पट्यार लाग्ने प्रक्रिया र नवीनताको खोजी
यसपटकको स्थानीय तहको निर्वाचनमा झापाका वडा जनप्रतिनिधिहरु अधिकांश नयाँ अनुहार देखिएका छन् । निर्वाचन सम्पन्न भएको चार दिन बितिसक्दासम्म स्थानीय तहको सिंगो अनुहार भने देखिएको छैन । तर, गणना सम्पन्न भएका वडाहरुमा वडाध्यक्षदेखि सदस्यसम्मका पदहरुमा नयाँ अनुहारको बहुलता देखिएको छ । यसले आम मतदाताहरुमा नवीनता खोज्ने जागरुकता आएको र अधिकार, कर्तव्य अनि जिम्मेवारीबोधको अनुभूतिसँगै चेतको स्तर बढेको प्रमाणित गरेको छ । देशको राजधानी अहिले सम्पूर्ण नेपालीको जिज्ञासा, चासो र आकर्षणको केन्द्र बनिनुका पछि पनि आम जनतामा रहेको नवीनताप्रतिको मोहको उदाहरण हो । देशका स्थापित राजनीतिक शक्तिहरुलाई पाखा लगाएर गैरराजनीतिक अनुहारको पक्षमा आएको लहर र परेको मतले सबैको ध्यान खिचेको मात्र छैन, उत्सुकता पनि बढाएका छ ।

हामीकहाँ निर्वाचनको अभ्यास गरेको धेरै भयो । बहुदलीय व्यवस्था स्थापना भएको पनि तीन दशकभन्दा बढी भइसकेको छ । त्यो भन्दा पनि परिस्कृत भनिएको संसदीय लोकतन्त्रको अभ्यासले नेपालीको चेतनाको स्तरमा अझै निखार ल्याएको हाम्रै अगुवाहरुले बताउने गरेका छन् । त्यहीकारण हुनसक्छ स्थानीय तहको दोस्रो निर्वाचनको घोषित परिणामले वडाध्यक्षको पुराना पात्रहरुलाई विस्थापन गर्दै नवीन ऊर्जा, उत्साह, जोश र सामथ्र्य खोजेर स्थापित गरेको चित्र देखिँदैछ । शायद त्यहीकारण सम्पूर्ण सेवा, सुविधा, अवसर र सम्भावनासहितको राजधानीको काठमाडौं महानगरपालिकाको नेतृत्व प्रदान गर्न त्यहाँका मतदाता आतुर देखिएका ।
मतगणना कार्य जारी रहेकै बेला मतदाताहरु भने मतपरिणाममा भइरहेको ढिलाइले दिक्क भएका छन् । आफ्नो लगानीको प्रतिफल खोज्नु स्वभाविक हो, त्यसैले हातको काम छाडेर परिणाम सुन्न व्यग्र प्रतीक्षा गरिरहेका मतदाता आक्रोशित पनि हुन सक्छन् । सिंगो मुलुककै ध्यान अहिले मतगणना स्थलमा केन्द्रित छ । तर, निर्वाचन आयोगले भने पट्यारलाग्दो गणनाको क्रमलाई तीव्रता दिने तदारुकता देखाएको छैन । विविध कारणले मतदान नै रोकिएका बाहेकका स्थानीय तहको नतिजा चाँडै सार्वजनिक गरी स्थानीय तहमा जनप्रतिनिधिलाई पठाउनु उसको मूल दायित्व हो । स्थानीय सरकारको अभावमा राज्यले गर्नुपर्ने दिनदिनैका काम, प्रवाह गर्नुपर्ने सेवा र विकास–निर्माणको क्रमलाई निरन्तरता दिन परिणाम यथासक्य समयमै सार्वजनिक गर्नुपर्छ । यसका लागि आयोगले परम्परागत प्रवृत्ति र प्रक्रियामा सुधार गर्नुपर्छ । अहिले देखिएको समस्या अब आउने निर्वाचनमा नहोस् यसतर्फ आयोगको ध्यान आकृष्ट हुनुपर्छ । वैकल्पिक उपाय खोजेर पनि दुई दिनभित्र मतगणना सम्पन्न गर्ने सक्रियता देखाउनुपर्छ ।
