जोखिम टरेको छैन
ओमिक्रोन संक्रमणका हिसाबले झापा फेरि पनि ‘रेडजोन’ बनेको छ । अघिल्लो भेरियन्टको तुलनामा संक्रमण दर बढी भएको ओमिक्रोन भाइरसको असर कम भएका कारण ‘मरि हालिन्छ कि !’ भन्ने त्रास हटेकोले सायद स्वास्थ्य मापदण्डको पालना हुन छाडेको छ । जिम्मेवार व्यक्ति, पदाधिकारी र सरकारमा बस्नेहरुले नै मापदण्डको अवज्ञा गरेका कारण पनि हुनसक्छ आममानिस बेपर्वाह हिँडडुल गरिरहेका छन् । सडक होस् वा हाटबजार अथवा सार्वजनिक सवारी, सामाजिक गतिविधि हुन् वा धार्मिक एवम् सांस्कृतिक गतिविधि बेरोकटोक र मापदण्ड उल्लंघन गरिएका जतासुकै भेटिन्छन् । संक्रमण पुष्टि भएका स्थानीय सरकारका प्रमुखहरु, जनप्रतिनिधिहरु नै सार्वजनिक सभा, समारोहमा उपस्थित भइरहेका छन् ।

पछिल्लो तथ्यांकले पनि झापा संक्रमितको संख्या पाँच सयभन्दा बढी भएको जिल्ला मध्ये एक रहेको देखाएको छ । यस्तै असावधानी र स्वास्थ्य मापदण्डको अवज्ञा गर्ने हो भने यसले भयावह रुप नलेला भन्न सकिने अवस्था छैन । अहिले नै देशका बीसवटा जिल्लामा संक्रमण उच्च छ । नयाँ भेरियन्ट कै कारण मानवीय क्षतिको ग्राफ पनि उकालो लाग्न थालेको छ । सघन उपचार कक्ष र भेन्टिलेटरमा रहनेहरुलाई उच्च जोखिम मान्दा पनि तीन सयभन्दा बढी जीवनका लागि संघर्ष गरिरहेका छन् । एकान्तबासमा रहेका पौने दुई हजारभन्दा बढीको अवस्था त्यसभन्दा खराब नहोस् भन्नेतर्फ संक्रमित र तिनका परिवारको एकमात्र इच्छा हुनसक्छ ।
शुक्रबार मात्रै नेपालमा छ हजार आठ सय सत्ताइस जनामा कोरोना संक्रमण प्रमाणित भएको छ । यस हिसाबले हाल नेपालमा करिब नब्बे हजार जनामा कोरोनाको संक्रमण कायम छ । सर्वाधिक भीडभाडयुक्त शहरहरुमा कोरोनाको विस्तार व्यापक बन्दैछ । अनि पनि विश्वस्वास्थ्य संगठनले सिफारिस गरेको स्वास्थ्य मापदण्डको पालनामा आममानिस गम्भीर भइरहेका छैनन् । सरकारले पनि स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्ने आवश्यकता महशुस गरेको छैन । खोपबाट वञ्चित वर्ग र समूहलाई खोप पहुँचमा ल्याउन अभियानलाई तीव्र बनाउन सकिरहेको छैन, यद्यपि खोप अभियान जारी छ । तर, असावधानी र मापदण्डको अवज्ञा गर्ने क्रम बढेर गएका कारण जोखिम झनै उच्च बनेको छ । यस्तोमा खोपमा तीव्रता र व्यक्तिगत सचेतनाले मात्र महामारीको पीडा कम गर्न सक्छ, सबैमा चेतना होस ।
