September 24, 2026

अधिवेशनबाट नगरमा सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ–थापा

0

विनोद सापकोटा,
शिवगञ्ज।

नेपाली काङ्ग्रेस शिवसताक्षी नगरका सह सभापति पदम थापाले पार्टीको आसन्न अधिवेशनबाट नगरमा सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।

पूर्वाञ्चल सँग राजनीतिक र आसन्न नगर अधिवेशनको विषयमा भएको टेलिफोन अन्तर्वार्तामा उनले नेतामा त्याग र तपस्या दुवै गुण हुनुपर्ने बताए ।

शिवसताक्षी नगरको १४ औं अधिवेशन बाट आफूलाई नगरको सभापति पदको एक मात्र राजनीतिक अनुभवि उम्मेदवारका रुपमा प्रस्तुत गरेका थापाले पार्टीभित्रको कलह, गुटउपगुटको राजनीति समाप्त पार्न हाललाई उमेद्वारी नदिने बताएका हुन् । ‘पार्टी र कार्यकर्ता जोगाउन मेरो त्याग अपरिहार्य ठानेर उम्मेदवारी नदिने निर्णय गरेको छु,’ उनले भने ।

कांग्रेश नगर सभापति पर्शुराम ढुंगाना, सह सभापति द्वय थापा र विनोद ढकाल लगायतको ४ दिनको छलफलपछि साझा उम्मेदवार निकाल्ने विषयमा सहमत भएको हो । साझा उम्मेदवार छनौट गर्नेक्रममा सभापति ढुंगाना र अर्का सह सभापति ढकालले अशोक बस्नेत लाई समर्थन गरेर अघि बढ्नुपर्ने प्रस्ताव गरेपछि थापा उनीहरूको प्रस्तावमा राजी भएका थिए ।

‘पार्टीको केन्द्र,प्रदेश,जिल्ला र क्षेत्रीय तहका नेता कार्यकर्ताले उमेद्वारी फिर्ता लिएर पार्टीलाई एकढिक्का बनाउँदै अघि लैजाने अभियानमा अग्रसर हुन आग्रह गरेपछि तत्काललाई उमेदवारी नदिने निर्णय गरेको हुँ,’ आफुले उम्मेदवारी नदिएपछि नगरको सभापति पदका आकांक्षी मध्ये एकजनालाई साझा उम्मेदवार बनाउने गृहकार्यमा आफू पनि लागेको पनि उनले बताए ।

थापाले भने, ‘१४औं नगर अधिवेशनबाट सभापति पदका आकांक्षी मध्ये अशोक बस्नेतलाई निर्विकल्प नेतृत्व प्रदान गरौ । अन्य इच्छा भएका पार्टीभित्रका साथीहरुलाई पार्टी भित्रको कुनै न कुनै ठाउँ दिएर पदीय हिसाबले जिम्मेवारी बनाऊ ।’

नेपाली कांग्रेसका शिवसताक्षी नगर सभापति पर्शुराम ढुङ्गानाले १४ औं नगर अधिवेशन बाट आगामी पाँच वर्षका लागि गठन हुने नयाँ नेतृत्व सकेसम्म सर्वसम्मत बनाउने कसरत गरिरहेको बताएका छन् । ढुंगानालाई प्रदेश र जिल्ला समितिले पनि सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न सुझाएको समाचार स्रोतले बताएको छ । झापाका १५ स्थानियतह मध्ये हालसम्म झापा गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

उम्मेदवारी नदिने थापा को हुन् ?

शिवसताक्षी नगरपालिका स्थापना हुनु पूर्व तत्कालीन पाँचगाछी गाविसको तीन पटक पार्टीको सभापति भएका थिए । शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का स्थायी बासिन्दा थापा कानुन व्यवसायी पनि हुन् । राजनीतिमा सम्भावना र चुनौती दुवै हुने बताउने थापा सामाजिक क्षेत्रमा अग्रपंक्तिमा छन् ।

उनी शिवगञ्ज बहुमुखी क्याम्पस सह -प्राध्यापक हुन् । गएको स्थानीय तहको निर्वाचनमा थापा शिवसताक्षी नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्ष पदका उम्मेदवार बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *