September 24, 2026

प्रदेश–१ का मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारको आयु अब तीन दिन !

0

बिर्तामोड ।

नेकपा माओवादी केन्द्रका नेता एवम् प्रदेश सांसद झलकसिंह दर्लामीले प्रदेश सरकारको आयु अब तीन दिनमात्र बाँकी रहेको बताएका छन् ।

मुख्यमन्त्री भीम आचार्यले आगामी असोज ८ गतेभित्र विश्वासको मत लिनुपर्ने र उनले कुनै पनि हालतमा विश्वासको मत नपाउने भएकाले प्रदेश सरकारको आयु तीन दिनमात्र रहेको दाबी गरेका हुन् । पूर्वाञ्चलकर्मीसँग मंगलबार कुरा गर्दै प्रदेश सांसद दर्लामीले भने– ‘वर्तमान सरकारसँग बहुमत छैन, यो एक महिने सरकार मात्र बनेको हो ।’

नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरे पनि मुख्यमन्त्री आचार्यले मन्त्री परिषद् विस्तार गरेर हाँस्यास्पद कदम चालेको बताए । नेकपा एमालेको नेतृत्वमा आचार्य मुख्यमन्त्री बनेका हुन् । एमालेसँग ३९ जना मात्र सांसद रहेको भन्दै प्रदेश सांसद दर्लामीले भने– ‘संसदमा बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छन्् त्यो एमालेसँग छैन ।’

नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत नेकपा समाजवादीका १०, जनता समाजवादी पार्टीका तीन, लिम्बुवानका एक र राप्रपाका एक सांसद आफूहरुसँग रहेको उनले दाबी समेत गरे । असोज ८ गतेभित्र विश्वासको मत नलिए संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा विपक्षी दलहरु एकमत रहेको दर्लामीको भनाइ छ ।

मुख्यमन्त्रीबाट शेरधन राईले राजीनामा दिए लगत्तै एमालेले आचार्यलाई संसदीय दलको नेता घोषणा गर्दै मुख्यमन्त्री बनाएको थियो । विपक्षी गठबन्धनले वर्तमान सरकार हटाएपछि एकीकृत समाजवादीका नेता राजन राईलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्ने तयारी समेत थालेको प्रदेश सांसद दर्लामीले जानकारी दिए । मुख्यमन्त्री आचार्य गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *