बिर्तामोडका व्यवसायीलाई आज र भोली कोरोना विरुद्धको खोप
बिर्तामोड । 
बिर्तामोड उद्योग वाणिज्य संघले संघमा आवद्ध ब्यवसायीहरुलाई आज र भोली दुई दिन कोरोना विरुद्धको खोप लगाउने भएको छ ।
संघको पहलमा लगाउन लागिएको भेरोसिल खोपको पहिलो मात्र हो । पूर्वको ब्यस्त शहरको रुपमा रहेको बिर्तामोडका ब्यवसायीहरुलाई आज असोज २ र ३ गते दुई दिन कोरोना विरुद्धको खोप लगाउने निर्णय भएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए । दुई चरणमा एक हजार ९५० जना ब्यवसायीलाई खोप लगाउने कार्यक्रम बनाइएको छ ।
खोप लगाउनका लागि आर्थिक वर्ष २०७७/०७८ र आर्थिक वर्ष २०७८/०७९ मा दर्ता वा नवीकरण भएका उद्योगी व्यवसायीलाई नेपाल सरकारले जारी गरेको परिचय पत्र र पानको फोटोकपी लिएर आएमा संघको रेकर्डमा दर्ता भएकालाई मात्र खोप लगाइने निर्णय भएको संघका प्रवक्ता संजीव घिमिरेले बताए ।
खोप लगाउन पहिला आउनेलाई पहिलो प्राथमिकता दिइने जनाइएको छ । पहिलो दिन एक हजार र दोस्रो दिन ९५० जनालाई मात्र खोप लगाइने संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताए ।
संघको कार्यलयमा बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउने कार्यक्रममा आँउदा भौतिकदुरी तथा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरिदिन आग्रह गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघले आफ्नै पहलमा ब्यवसायीहरुलाई खोप लगाउन लागेको हो ।
