किशोरी बलात्कृत भएपछि…
विष्णुप्रसाद पोखरेल,
दमक ।

एक १६ बर्षीया किशोरी बलात्कृत भइन् । उनको गर्भ रहेको जब सार्वजनिक भयो तब उनलाई समाजमा बस्न मुस्किल भयो । परिवारलाई पनि कहाँ राख्ने ? कसो गर्ने ? भन्ने चिन्ताले सताउन थाल्यो ।
सोधखोज गर्ने क्रममा जब दमकमा महिला सुरक्षा गृहले यस्ता आपत्मा रहेकाहरुलाई सहयोग गर्छ र राख्छ भन्ने उनका आफन्तलाई थाह भयो तब भने परिवारको पीडामा केही कमी भयो । अहिले उनै किशोरीले बच्चा पाएर हुर्काउँदै गरेको अवस्था रहेको छ ।
दमक नगरपालिका–३स्थित बेलडाँगी शरणार्थी शिविरमा पहिला शरणार्थीहरुको रेखदेखमा सक्रिय रहेका दातृ निकायको एउटा कार्यालय रहेको ठाउँमा नै तीन बर्ष अघिदेखि सञ्चालनमा रहेको महिला सुरक्षा गृह अहिले यस क्षेत्रका पीडित महिलाहरुका बाँच्ने आधार बन्न थालेको छ । अहिले पनि २ जना बलात्कृत बालिका र एक किशोरी आमा सुरक्षा गृहमा रहेका छन् । यसको सम्पूर्ण व्यवस्थापन तथा रेखदेख स्थानीय सरकार दमक नगरपालिकाले नै गर्दै आएको छ । सय जना भन्दा बढी आपत्मा परेका महिला तथा वावबालिकाहरुले यहाँबाट सेवा पाएको बताइएको छ ।
आफन्त एवम् नातेदारबाट बलात्कृत भएका, बाबु पत्ता नलागेका किशोरी आमाहरु, बलात्कृत बनेर समाजबाट तिरस्कृत हुने अवस्थामा रहेका महिला तथा बालिकाहरुका लागि मनोपरामर्श सेवा सहित यहाँ ल्याए आवश्यक उपचार समेत गरिँदै आएकाले यो वेसहाराको सहारा जस्तै भएको बताइन्छ । हिंसा पीडित, बलात्कृत तथा वेवारिसे अवस्थामा भेटिएका महिला तथा वालबालिकाहरुलाई तत्काल उद्धार गरेर राख्ने ठाउँ अभाव रहेको पाइएकाले यसका लागि आफूहरुले यो महिला सुरक्षा गृह सञ्चालनमा ल्याएको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् ।
प्रहरीमा यस्ता प्रकारका हिंसापीडित महिलाहरुका लागि उपयुक्त ठाउँ नहुने भएकाले कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता रहेको अवस्थामा स्थानीय सरकारले व्यवस्थित रुपमा सञ्चालन गरिरहेको छ । हामी यसलाई अझ व्यवस्थित र सुविधासम्पन्न भवन बनाएर सञ्चालन गर्ने बिषयमा पनि छलफलमा रहेका छौ– दमक नगरपालिका उपप्रमुख अधिकारीले भनिन् ।
जिल्लामा यस प्रकारको महिला सुरक्षा गृह कही पनि नरहेकाले अन्यत्रबाट समेत यहाँ विपत र जोखिममा परेका महिलाहरुलाई ल्याइने गरेको बताइएको छ । जहाँबाट ल्याए पनि हामीले यहाँ लिएका छौ र सकेको सहयोग गरेका छौं– दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले भने । अप्ठेरो अवस्थामा ल्याइएका महिलाहरुका लागि सहज अवस्था भएपछि आएर परिवार तथा आफन्तले बुझेर लाने समेत गरेको बताइएको छ ।
यसैबीच लायन्स क्लव अफ दमक झापासहितका चारवटा क्लवहरुले यहाँ आश्रय लिइरहेकी किशोरी सुत्केरी महिला र अन्यलाई लत्ताकपडा, पोषिलो खानेकुरा र नगदसहितको सहयोग गरेका छन् । सेविका, बिगबुद्ध र बेलसिटी क्लवहरु सहितले सहयोग गरेको लायन्स क्लव अफ झापाका अध्यक्ष अशोक चौधरीले बताए ।
