माधव कमरेड अभिवादन !

लामो समयसम्म नेकपा एमालेमा भइरहेको आन्तरिक विवादलाई बिट मार्दै नयाँ पार्टीको यात्रा प्रारम्भ गरेपश्चात प्रसन्न मुद्रामा आराम नै हुनुहुन्छ होला । रस्साकस्सी धेरै भयो, छेडछाड धेरै भयो, आरोप प्रत्यारोप धेरै भयो अथवा खासगरी कमरेड केपी ओली र तपाई कमरेडबीचको एकअर्काप्रतिको दोषादोष अन्ततः पार्टी टुक्रिएर किनारा लागेको छ । तर, यो टुक्र्याई नेकपा एमालेका कुनै पनि नेता र कार्यकर्ताको भावनाको प्रतिकुल मात्र होइन नेकपा एमालेप्रति आशा र भरोसा गर्ने लाखौं कार्यकर्ताहरुको भावना प्रतिकूल हो ।
कमरेडहरुमा विवाद थिए होला, मतभेद थिए होला, तर ती विवाद र मतभेद कुनै सिद्धान्त, विधि वा पद्धतीमा थिएनन् । ती विवाद आपसी समझदारीका, मनका, कुण्ठाका, भागवण्डा आदिका थिए । हुन त तपाई र केपी ओलीबीचको अन्तरविरोध आजको होइन, जो आम एमाले कार्यकर्ताले नजिकबाट अनुभूत गरेकै हुन् । खासगरी जब केपी ओली नवौं महाधिवेशन पश्चात तपाईलाई पराजीत गर्दै अध्यक्ष बन्नुभयो त्यही बेलादेखि तपाईंले त्यसलाई एउटा प्रजातान्त्रिक र लोकतान्त्रिक प्रक्रियाको रुपमा अन्तरमनबाट स्वीकार्न सक्नुभएन । बरु त्यो पराजयलाई तपाईले आफू अपमानित भएको कुण्ठाका रुपमा पाल्नुभयो । लामो समयसम्म पार्टी हाँकेको व्यक्ति अप्रत्यासित रुपमा पराजीत हुँदा धेरै कुराको छटपटी हुनु स्वभाविक नै थियो । तर, त्यसलाई अस्वाभाविक रुपमा पालिरहनुभयो । पार्टीले गति लिँदै गयो, हिजो तपाईले जसरी पार्टी हाँक्नुहुन्थ्यो अर्को व्यक्तिले आफ्नो किसिमले परिधिभित्र रहेर पार्टी हाँक्दा शैलीमा फरक त पर्ने नै भयो त्यसलाई अन्यायको रुपमा लिँदै समूहगत रुपलाई विकास गर्दै जानुभयो । तर, यसो गरिरहँदा हिजो पार्टीको कार्यकारी तपाई हुँदा तपाईले अरु नेतामाथि समान व्यवहार गर्नुभएको थियो कि थिएन भन्ने चाहिँ चट्टकै बिर्सनुभयो ।
यही पेरिफेरिमा चित्त दुखाइ र मन फटाइ पाल्दापाल्दै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भयो । यो एकतालाई निस्वार्थरुपमा सबैले स्वीकार्न सकेको भए र नेपालमा एउटा बलियो र शक्तिशाली कम्युनिस्ट पार्टी बनाउने संकल्प गरिएको भए यो सुखद् र विश्व कम्युनिस्ट आन्दोलनमा नै एउटा उदाहरण बन्न सक्दथ्यो । तर, पार्टी एकता ऊ मरिहाल्छे म पोइल गैहाल्छु भने जस्तै अनेकौं भित्री स्वार्थमा रुमल्लिएको थियो । र, ती स्वार्थहरू समयक्रम सँगै छरपस्ट हुँदै गएका पनि हुन् । जस्तो सोचियो त्यस्तो भएन, न मर्ने म¥यो न पोइल जानेले जान पायो । यो नहुँदा अरु–अरु खिचडी पाक्न थाल्यो र एमालेभित्रको कमजोरीलाई तुरुन्त समाउँदै एमालेलाई नै प्रयोग गरेर आफू शक्तिशाली हुने वा एमाले कमजोर बनाउने लक्षित उद्देश्य तय भएर तपाई कमरेड माधवकुमार नेपाललाई तपाईका हरेक गुनासाहरुसहित खेल्दै पार्टीभित्र चरम गठबन्धन कसियो । त्यसले केपी ओली कित्ता एकातिर र कमरेड प्रचण्ड, कमरेड झलनाथ तपाई लगायतको कित्ता एकातिर भएर पार्टी र सरकार दुबैलाई निकम्मा बनाउने प्रयत्न मात्र भएन अरु धेरै हर्कतहरु भए । यी हर्कतहरु दुबै कित्ताबाट भएकै हुन तर अलि बढी ओली सिध्याउने गरिए । यो केवल गाली गलौज, गुटका सभा सम्मेलन, बैठक आदिमा मात्र सिमित भएन एकले अर्कालाई पार्टीबाट निकाल्नेसम्मका कार्यहरु भए, गरिए । तर, अन्ततः यसलाई अदालतले एक कदम अघि बढेर नै बिट मारिदियो र पुनः नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुनस्र्थापना गरिदियो ।
यसपछि खासगरी एमालेभित्र सल्किएको आगो निभाउने अनेकांै प्रयत्न भए । तर, ती प्रयासहरुले सार्थकता पाउन सकेन । कमरेडलाई बारम्बार एमालेभित्रबाट बाहिर पु¥याउन अथवा एमालेको रिङ्गभित्र रहन नदिन अनेकौं भेटघाट, बैठक आदि भए । सरकार जोगाउन, आफू शक्तिशाली नै हुन कमरेड केपी ओलीले पनि आफ्नो प्रतिरक्षा गरेकै हुन् । यस्ता प्रतिरक्षाहरु असन्तुष्टी बोकेकाहरुलाई आए आउ नआए ठीक गरिन्छ भन्ने अभिप्रायका साथ भए भने असन्तुष्टी बोकेकाहरुबाट हामीले भनेको मान्छौ कि देखादिउ भन्ने तहबाट समेत भएका हुन् । तर, यसो गर्दैगर्दा आफ्नो जीवन नै राजनीतिमा व्यतित गरेको व्यक्ति, पार्टीलाई लामो समयसम्म कार्यकारी भएर हाँकेको कमान्डरले पार्टीभित्र कसले केका निमित्त आफूलाई के भन्दैछ वा उसको आशय के भने जस्ता विषयमा किन गहनता भएन सबै अचम्मित छन् । नेकपा एमालेलाई आजको अवस्थासम्म ल्याई पु¥याउन यहाँको महत्वपूर्ण योगदान छ भन्नेमा दुईमत हुन सक्दैन । तर, तपाई जतिको कुशल नेताले केबल कुण्ठा पालेर नै आफूलाई एमालेबाट अलग गर्नु किमार्थ शोभनीय हुँदै होइन । राजनीतिमा एकले अर्कालाई कमजोर बनाउन ढाडमा टेकेर टाउकामा हान्नु कुनै नौलो र अनौठो होइन । तर, एमालेभित्रको कसरी छिरेर के अभिष्ट पूरा गर्न खोजेको छ भन्ने कुरा तपाई जतिको नेताले थाह नपाउनु भएको हो र कमरेड ! तपाईलाई अब एमाले पार्टीमा नफर्किनुस् भनेर कसैले सल्लाह दिँदा किन यसो भनिरहेका छन् भनेर विश्लेषण गर्न आवश्यक ठान्नु भएन कमरेड ! कुनै दिन मलाई यसरी फसाइयो भनेर नभन्नुहोला कमरेड, यो तपाईलाई छुट छैन । सँगै मेरा साथीहरुले नै मलाई धोका दिए भनेर भन्ने छुट पनि तपाईलाई छैन कमरेड । किनभने तपाई जतिको दिग्गज नेताले भर्खरै राजनीति शुरु गरेका केटाकेटीको राजनीति बोली बोल्न सुहाउँदैन ।

विकसित राजनीतिक घटनाक्रमलाई भंग गर्दै तपाईले नै हस्ताक्षर गरेर बनाएको देउवा सरकारको सहयोगमा २०७८ भदौ २ गतेको शुभसाइतमा एमालेबाट अनौठो गरी चोइटिन पुग्नुभयो । यहाँको शुभसाइत नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा कालो दिन मानिने छ । किनभने यो चोइटिनु सामान्य होइन यसले कति अर्थ र महत्व राख्छ भन्ने आगामी निर्वाचनले स्पष्ट गर्नेछ । २०५४ मा एमाले विभाजन हुँदा नेपाली जनताको समृद्धी र खुशीका खातिर क्रान्ति र परिवर्तनका निमित्त लामो समयसम्म अनेकौं कठोर मानसिक तथा शारीरिक यातना भोगेका एमालेका लाखौं कार्यकर्ताहरु जसरी दुखित भएका थिए आज त्यही इतिहास एमालेभित्रको अन्तरसंघर्ष व्यवस्थापन हुन नसक्दा २४ वर्षपछि फेरि दोहोरिएको छ । पार्टीभित्र आफू हावी हुने अथवा आफ्नो वर्चस्व कायम राखेर फरक समूहलाई कमजोर बनाउने रणनीति अख्तियार गरेका कारण नेकपा एमालेको जीवन संकटपूर्ण अवस्थामा गुज्रिरहेको छ । आज एमाले नै यो देशका निमित्त आवश्यक पार्टी हो भनेर विश्वासको आँखा ओछ्याएका नेकपा एमाले प्रति आस्थावान लाखौं नेपालीहरुलाई पीडाबोध भएको छ । उनीहरुको विश्वास माथि कालो बादल मडारिएको छ । पार्टीलाई यो अवस्थासम्म ल्याइपु¥याउन जीवन र मृत्युलाई स्वीकारेर संघर्ष गर्ने हजारौं चन्द्र भण्डारीहरु अहिलेको विभाजनको पीडाभन्दा हिजो भोगेको जेल जीवन, यातना, संघर्ष र कष्टपूर्ण दिनहरु सामान्य र सरल थिए भन्दै हुनुहुन्छ । तर, कमरेडहरुको मुटु नै अर्कै भइसक्यो होला । किनभने आफ्ना सहयात्रीहरुलाई दुख्दा यहाँहरुलाई आनन्द आउन थालेको छ ।
गुटफुटको अनुभव बटुलेर पनि नचेत्ने तपाईहरु जनताप्रति उत्तरदायी हुनुहुन्छ भन्ने विश्वास रहने ठाउँ अब लगभग सकिएको नै होला । मुखमा आएको बहुमत पार्टी विभाजनका कारण पुनस्र्थापित÷पुनः प्राप्ति हुन २० बर्ष लागेको थियो । तर, नेतृत्वमा भएको चरम गुटबन्दीका कारण यो जनमतलाई एमालेले सुरक्षित राख्न नसक्ने स्थिति मात्र बनेको छैन । यही किसिमको जनमत प्राप्त गर्न अब कति बर्ष पर्खनुपर्छ यसै भन्न सक्ने अवस्था छैन । यसै पनि नेपाललाई सधैँ राजनीतिक अस्थिरतामा धक्का मारेर आफ्नो स्वार्थ पूरा गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरुको प्रमुख चाहना नै हो, त्यो चाहना पूरा गर्न सहयोग गर्ने पात्रका रुपमा तपाईले आफूलाई उभ्याउनु भएको छ भन्दा अन्याय नहोला । आफ्नै पार्टीको सरकार, आफ्नै पार्टीको घर झगडाका कारण अरुसँग मिलेर किन र के का लागि गिराउनुभयो र यसले कसलाई फाइदा भयो सबैलाई भन्न नमिले पनि तपाई कमरेडलाई त पक्कै थाह होला । कमरेड, हिजो केपी ओलीले ल्याएको अध्यादेश प्रतिगामी, अलोकतान्त्रिक, दुराश्य बोकेको, पार्टी विभाजन गर्ने निहीत स्वार्थ बोकेको भन्ने तपाईं नै होइन ।
हो, अध्यादेश सही थिएन, त्यसकारण विरोध गर्नुभयो, त्यो पनि जायज नै हो । तर, हिजो ल्याइएको अध्यादेश र आज तपाई कै सल्लाहमा नै तपाइ कै निमित्त देउवा सरकारद्वारा ल्याइएको अध्यादेशबीचको तात्विक अन्तर के हो ? अहिलेको अध्यादेश कुन कोणबाट कसरी लोकतान्त्रिक र अग्रगामी छ कमरेड । हिजो कानूनतः पार्टी विभाजन हुन पार्टीको केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत हुनुपर्ने प्रावधानलाई ओली सरकारले ल्याएको अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत हुनुपर्ने परिमार्जन गरिएको थियो । तर, आज तपाई कमरेडको सल्लाहमा, आग्रहमा सरकारद्वारा जारी गरिएको अध्यादेशमा त पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशत भए पार्टी विभाजन गर्न सकिन्छ भन्ने प्रावधानले को–कति लोकतान्त्रिक छ भन्ने छर्लङ्ग हुँदैन र कमरेड ! यसले त तपाई मात्र होइन यो अध्यादेश ल्याउने लोकतन्त्रको रक्षक र सबैभन्दा इमान्दार भनेर नथाक्ने कांग्रेसलाई समेत उदांगो बनाएको छ, निर्वस्त्र बनाएको छ, तर लाजै नहुनेलाई यसको के अर्थ । आफूले अलोकतान्त्रिक काम गरे पनि अग्रगामी हुने अरुले आफ्नो तुलनामा कम अलोकतान्त्रिक वा लोकतान्त्रिक काम गरे नि प्रतिगामी हुने यो कस्तो ब्याख्या र परिभाषा हो ।
कमरेडकै कृपाले बनेको सरकार भएको हुँदा यहाँले भनेको कुरा नमान्न बिचरा देउवालाई नि सकस नै होला, अध्यादेश ल्याएर नै जब पार्टी टुक्र्याउने अन्तिम बिन्दुमा पुग्नुभयो कमरेडलाई लागेको थियो होला । केपी ओलीभन्दा बलियो शक्ति हुइन्छ, धेरै नेताहरू म तिरै हुनुहुनेछ, तर स्वार्थलिप्त र नगदानगदीको निमित्त चोइटाएको पार्टीमा तत्काल त्यस्तो देखिएन कमरेड, बरु तपाईद्वारा राखिएको नामहरुमा धमाधम असहमति र आपत्ति आइरहेका छन् । तर, यो अनौठो होइन अनि यसैलाई आधार मानेर अहिले नै कोही दुःखी र कोही खुशी भइहाल्नुपर्ने विषय पनि होइन किनभने स्वार्थी र लोभीहरु जता लाभ हुन्छ त्यता दौडिन्छन् भन्ने त अब घाम जस्तै छर्लङ छ । साच्चिकै निस्वार्थी, देश र जनतालाई शिरमा राखेर मुलुकको विकास र समृद्धीलाई सर्वोपरी मान्ने र त्यसबाट विचलित नहुने नेताको यो मुलुकमा खडेरी लाग्ने क्रम दिनानुदिन बढिरहेको छ भन्दा अत्युक्ति नहोला । एमाले चोइट्याउँदा पनि तपाईलाई एमालेको माया चाहिँ अलि–अलि रहेछ कमरेड । त्यसैले त नयाँ पार्टीको नाममा एमाले पछाडि पुच्छर झुण्ड्याएर समाजवादी राख्नुभयो । तर, मायाले कहाँ थाम्छ र कमरेड न तपाईले रोजेको नाम पाउनुभयो न तपाइले रोजेको चुनाव चिन्ह ।
इतिहास साक्षी छ कमरेड, नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलाल र अन्य संस्थापक सदस्यहरु मोतीदेवी श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी लगायतले कठिन परिस्थितिलाई आत्मासाथ गरेर नेपालमा कम्युनिष्ट पार्टीको बिजारोपण गर्दै पार्टी निर्माण मात्र गर्नुभएन नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनु भयो । कमरेड तुलसीलाल, निर्मल लामा लगायतका नेताहरुले त्यतिकै ठूलो योगदान गर्नुभयो, आज उहाँहरु हामीमाझ हुनुहुन्न । तर, उहाँहरुले निर्माण गरेको कम्युनिस्ट पार्टीको सबैभन्दा ठूलो शक्ति हामीसँग छ । नेकपा एमालेमा कमरेड मनमोहन अधिकारी, नेपालका कार्लमाक्र्स जनताको बहुदलीय जनवादका प्रतिपादक जननेता कमरेड मदन भण्डारी, कुशल संगठक कमरेड जीबराज आश्रित लगायतका धेरै नेताहरू आज हामी माझ हुनुहुन्न । तर, पार्टी निर्माण र कम्युनिष्ट आन्दोलनमा उहाँहरुले पु¥याउनु भएको योगदान आज पनि उत्तिकै महत्वपूर्ण छ । व्यक्ति जन्मन्छ अनि मर्छ अर्थात् चाहेर पनि कुनै व्यक्ति सधैँभरि बाँचिरहँदैन । तर, उसले आफ्नो जीवनकालमा गरेका कर्महरु, पार्टी संगठन, विचार, बलिदान आदि बाँचिरहन्छ ।
पार्टी जीवनमा नेतृत्व परिवर्तन भइरहन्छ यो सामान्य प्रक्रिया हो । तर, लाखौं कार्यकर्ताको त्याग र बलिदानले सिँचिएको पार्टी कुनै व्यक्तिसँगको रिस र इष्र्याका कारण गुट–उपगुटमा विभाजन भएर व्यक्ति सिध्याउन लाग्ने र तिनै गुट–उपगुटमा विभक्त भएर रमाउँदै पार्टीका हजारौं निस्वार्थी कार्यकर्ताको भविष्य माथि खेल्ने निकृष्ट कार्यलाई कसरी स्वागत गर्न सकिन्छ र ? एकीकृत कम्युनिस्ट पार्टीलाई फुट र विभाजन गरेर कम्युनिस्ट आन्दोलन बचाउने भन्ने झुट इतिहास रचेर आफूलाई बहादुर सम्झनेहरुलाई इतिहास र भोलिका सन्ततिहरुले कसरी मूल्यांकन गर्छन् त्यो हेर्न बाँकी नै छ । तपाई त पार्टीको कार्यकारी भएर निक्कै लामो समयसम्म पार्टी सञ्चालन गरेको एकजना शीर्ष नेता, तपाई माथि अध्यक्ष कै भोक चाहिँ किन यति सारो जागेको होला कमरेड ? व्यक्तिसँग रिस उठ्यो भन्दैमा पार्टी नै चोइट्याउने आँट कसरी गर्न सक्नुभयो कमरेड ? एकताको नाममा केपी बराबरको अध्यक्ष र हैसियत, हस्ताक्षर आफ्नो पनि हुने भए पार्टी एकता गर्ने यहाँको बटमलाइनले नै प्रष्ट गर्दछ कि यहाँ पदका निमित्त कति लालची र आशक्त हुनुहुन्छ । यसो भन्दै गर्दा यहाँले यो विचार गर्नुभएन कि कमरेड भोलि पार्टीमा कुनै अर्को समूह खडा भएर तपाई जस्तै पदलोलुप कुनै अर्को नेताले मलाई अध्यक्ष चाहियो नत्र पार्टी विभाजन गर्छु भने के गर्ने कमरेड ! कि जे माग्छन् ती पद सृजना गर्दै जाने हो ।
होला, अब तपाईले तपाईका वरिपरिका नेता कार्यकर्ताहरु सँग मिलेर पार्टी बिस्तार गर्दै जानुहोला, यसमा निकै धेरै चुनौतिका पहाडहरु छन् ती पनि छिचोल्नुहोला । आफैं पार्टी अध्यक्ष भएपछि अबका निर्वाचनमा क–कसलाई पार्टीको उम्मेदवारको टिकट दिने तपाईकै हस्ताक्षर र निर्णय पनि चल्नेछ । तर, तपाईद्वारा टिकट प्रदान गरिने कति उम्मेदवारले चुनावमा विजय हासिल गर्लान् त्यो बारे पनि जोड–घटाउ गर्नुहोला न कि हिजोको मालेको जस्तो लज्जास्पद पराजय नहोस् । इतिहासमा टुक्रिएर गएका र गठन भएका पार्टीहरु दीर्घकालसम्म गतिशील भएको बिरलै देखिन्छ । अन्ततः कुनै न कुनै दलसँग एकता गरेर विलय भएका अल्पकालीन पार्टीहरु दर्जनांै छन् । जसका नेताहरुले तत्कालको फाइदा लिने र आफ्नो स्वार्थको मौका नछोड्ने गरेको देखिन्छ । कतै तपाईको लक्ष्य पनि अहिलेको सरकारमा तपाईका निकट रहेका, तपाईलाई मान्ने केही मान्छे मन्त्री बनाउने, भागबण्डामा प्राप्त लाभका पदहरुमा आफू निकटका नेताहरुलाई भर्ति गराउने र अन्ततः प्रचण्डसँगको अहिलेको गठजोड र योजना अनुसार पार्टी एकताका नाममा विलय हुने त होइन । तथापि कम्युनिस्ट एकता गर्नु, बलियो कम्युनिस्ट पार्टी बनाउनु राम्रो नै हो, तर हिजोको एमाले र माओवादी केन्द्रबीच एकता भएर स्वार्थको डङ्गुरभित्र निर्माण भएको नेकपाको झैं नियति चाहिँ नहोस् ।
एक मनले त तपाईलाई एमालेको माया छ भनेर विश्वास गर्न पनि गाह्रो हुन्छ कमरेड । किनभने एमालेप्रति साँच्चै माया भए केवल स्वार्थ र सत्ताका निमित्त पार्टी चोइट्याउने कदम चालिने नै थिएन । तत्काल पार्टीभित्र देखापरेका समस्या समाधान गर्दै आगामी अधिवेशनमा युवाहरुलाई अघि सारेर नेतृत्व सुम्पदै जानु हितकार थियो होला । जसमा कमरेडहरु थपिन सक्ने स्थिति नि बन्थ्यो होला । तर, अरुलाई नेतृत्व दिन तपाईहरुको कुण्ठा र इगोले स्वीकारेन । कम्युनिस्ट आन्दोलन जोगाउन भन्ने डङका नपिटे हुन्छ कमरेड अब तपाईले । तपाईको हर्कत, औचित्य इतिहासले मूल्यांकन गर्नेछ ।
सरकारमा जानेगरीको फुट प्रति सच्चा कम्युनिस्टहरु कोही खुशी हुने छैनन् । अझै समय घर्किसकेको छैन, पार्टीभित्रै रहेर विकृत पक्षहरुलाई सच्याउने गरी अघि बढ्नुस यहाँलाई सबैको साथ हुनेछ । आम कार्यकर्ताले अस्वीकार नगर्ने गरी पार्टीलाई नयाँ शिराबाट प्रविधिमैत्री र रचनात्मक ढंगले बलशाली बनाउने गरी कार्यक्रम र भिजन लिएर आउनुहोस् जसलाई सबैले वाह वाह भन्न सकुन, जसले पार्टीलाई नयाँ उचाइमा पु¥याओस् । हिजोका आन्दोलन र संघर्षमा शाहदत्त प्राप्त तमाम शहीदहरुलाई सम्झेर उहाँहरुको बलिदानीलाई साक्षी राखेर पार्टी विभाजनको कुरूप कार्य परित्याग गर्नुहोस् र नेकपा एमाले र सूर्य चिन्हको छहारीमा पार्टीको फलैंचालाई थप शक्तिशाली बनाउन निस्वार्थरुपमा लाग्नुहोस् । यसैमा सबैको भलाइ छ, देशको भलाइ छ, जनताको भलाइ छ । हार्दिक अभिवादनसहित !

समग्र विश्लेषण उचितै छ । मानवको चेतना बाट सिद्धान्त बन्छ । मान्छे अघि हुन्छ र सिद्धान्त पछि ।
शुभकामना ,
कलम चलाउने लेखक लाई ।