September 13, 2026

कालोपत्र सडक निर्माण शुरु

0

कास्की,

कास्कीको माछापुच्छ«े गाउँपालिकाले गाउँपालिकाको केन्द्रबाट वडाका केन्द्र जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । नौ वडा रहेको गाउँपालिकामा गाउँपालिकाको केन्द्र लाहाचोकबाट सबै वडा केन्द्रलाई पक्की कालोपत्र सडक पूर्वाधारबाट जोड्ने गरी काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

‘पर्यटन, कृषि, ऊर्जा र पूर्वाधार ः समृद्ध माछापुच्छ«ेको आधार’ को नारासहित अघि बढेको गाउँपालिकाले हालै पालिकाका तीन वडालाई जोड्ने गरी पक्की कालोपत्र सडक निर्माण शुरु गरेको छ । वडा नं ४ लाहाचोकको भिरकटेराबाट वडा नं ३ को घाचोक र वडा नं १ को साविक माछापुच्छ«े गाविसको टुसेसम्म चार किमी पक्की सडक निर्माण शुरु भएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दबाडीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारको समपूरक बजेटबाट ती सडक पूर्वाधार निर्माण गर्न लागिएको हो ।

भिरकटेराको पानपाते चौताराबाट भलाबोट शुक्लागण्डकी विद्यालयसम्म एक र भलाबोटबाट टुसेसम्म अर्को खण्डमा विभाजन गरी काम गरिने गाउँपालिकाले जनाएको छ । भलाबोटबाट टुसे खण्डका लागि रु तीन करोड ७५ लाख लागतमा गत पुस २६ गते ठेक्का सम्झौता भएर काम शुरु गरिएको छ । यसै आर्थिक वर्षभित्र सो सडकखण्ड पक्की कालोपत्र गरिने गर्ने नयाँबाटो निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नं ४ को पानपाते चौताराबाट वडा नं ३ को शुक्लागण्डकी विद्यालयसम्मको एक किमी ६०० मिटर लामो सडकका लागि बोलपत्र आह्वान भएर मूल्याङ्कनको चरणमा रहेको छ । “गाउँपालिकाको कार्यालयबाट वडाका केन्द्रलाई पक्की सडक सञ्जालबाट जोड्ने गरी योजना निर्माण गरेर कार्यान्वयन शुरु गरेका छौँ”, उपाध्यक्ष दबाडीले भन्नुभयो, “स्तरीय सडक पूर्वाधारका माध्यमबाट गाउँपालिकावासीलाई सुविधा दिने योजना छ ।”

यसैगरी गाउँपालिकाका अधिकांश वडालाई समेट्ने गरी वडा नं २ को कोलचोकबाट, भलाबोट, लाहाचोक, भिँडाबारी, गैरीगाउँ, धिताल हुँदै धम्पुससम्मको १५ किमी सडक गत आवदेखि स्तरोन्नति काम भइरहेको छ । सङ्घ, प्रदेश र गाउँपालिकाको लगानीमा माछापुच्छ«ेमा सडक पूर्वाधारका ठूला योजना सञ्चालनमा रहेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत पोखरा–२५ मेलबोटबाट गाउँपालिकाको वडा नं ९ घलेलसम्मको १५ किमी सडकको काम विसं २०७५ असोजदेखि शुरु भएकामा आगामी चैत मसान्तभित्रमा निर्माण सम्पन्न हुने जनाइएको छ ।

यसैगरी प्रदेश सरकारको प्रदेश सदरमुकामबाट स्थानीय तहका केन्द्र जोड्ने सडक कार्यक्रमअन्तर्गत पोखरा–२५ मिलनचोकबाट माछापुच्छ«े गाउँपालिकाको केन्द्र लाहाचोकसम्म पाँच किमी सडक रु १० करोड लागतमा कालोपत्र गर्ने योजनाअनुसार हाल सडक फराकिलो बनाउने, नाला निर्माणलगायतका काम भइरहेको गाउँपालिका उपाध्यक्ष दबाडीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *