नेपाल जेसीजको बोर्डको प्रमुख अध्यक्ष सल्लाहकारमा पोखरेल
सुरुङ्गा,
कनकाई नगरका कुमारमणि पोखरेललाई जेसीज वर्ष २०२१ का लागि नेपाल जेसीजको बोर्डको प्रमुख अध्यक्ष सल्लाहकार पदमा चयन गरिएको छ ।

नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले जेसीज अभियानलाई सार्थक परिणामसहित समयसापेक्ष, सफल, उत्कृष्ट र उपलब्धिमूलक बनाउन पोखरेललाई बोर्ड अफ डाइरेक्टर्सको प्रमुख अध्यक्ष सल्लाहकारमा चयन गरेका हुन् । यो नियुक्ति कनकाई नगरक्षेत्रबाट केन्द्रीय तहमा हुने अति बिरलै नियुक्तिमध्येको एक मानिन्छ ।
युवाहरुको अन्तरनिहीत प्रतिभालाई प्रशिक्षणको माध्यमद्वारा प्रष्फुटन गराई कुशल नेतृत्व तथा सबल व्यक्तित्व विकासमा योगदान पु¥याउने उद्देश्यका लागि वर्ष २०२१ का निम्ति राष्ट्रिय अध्यक्ष प्रकरण ‘राइज टु चेञ्ज–लिडरसिप प्राक्टिसिज् फर् ह्युमन डेभलप्मेन्ट’ राखिएको छ ।
सुरुङ्गा जेसीज वर्ष २०१० का अध्यक्ष, कनकाई उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, रोटरी क्लब अफ सुरुङ्गाका पूर्व अध्यक्ष लगायतका जिम्मेवारी सम्हालिसकेका पोखरेल हाल युनिक बहुमुखी क्याम्पस सुरुङ्गाका सल्लाहकार, पृथ्वी साकोसका अध्यक्ष, तुर्सा हेमरम स्मृति प्रतिष्ठानका सचिव रहेका छन् ।
कनकाई नगरका आशालाग्दा बौद्धिक व्यक्तित्वका रुपमा रहेका पोखरेल नगरका युवाहरुमाझ पनि उत्तिकै लोकप्रिय मानिन्छन् ।
