April 29, 2026

श्रीमानको स्मृतिमा ज्येष्ठ नागरिक चौतारी

0

बिर्तामोड ।

झापाको बिर्तामोड–३ स्थित स्वागत चोकमा ज्येष्ठ नागरिक चौतारीको उद्घाटन गरिएको छ ।

गाउँमा रहेका ज्येष्ठ नागरिकहरुलाई भेला भएर सुख–दुःखका कुरा साटासाट गर्न सजिलो होस् भन्ने उद्देश्यले ज्येष्ठ नागरिक चौतारी बनाइएको बताइएको छ । आफ्ना श्रीमान् वेदनिधी तिम्सिनाको स्मृतिमा १५ लाख मूल्य बराबरको छ धुर जग्गा निःशुल्क दान दिएर उक्त स्थानमा ज्येष्ठ नागरिक चौतारी बनाएको निर्माण समितिकी अध्यक्ष निर्मला तिम्सिनाले बताइन् ।

उनले भनिन्– ‘श्रीमानको निधनपछि उहाँको सम्झनामा गाउँका वृद्ध बुवाआमालाई शितल छहारीको रुपमा ज्येष्ठ नागरिक चौतारो बनाएर भलाकुसारी गर्ने थलो बनाएको हुँ ।’

बिर्तामोड नगरपालिका, वडा कार्यालयले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको साथै स्थानीयबासी, विभिन्न संघ–संस्थाको सहयोगमा आठ लाखभन्दा बढी खर्च गरेर ज्येष्ठ नागरिक चौतारीको निर्माण गरिएको समितिका अध्यक्ष तिम्सिनाले बताइन् । आफ्ना सन्तान सुमन तिम्सिना र सुधा तिम्सिनालाई सामाजिक काममा अग्रसर हुनाका साथै आफ्ना श्रीमानको सामाजिक योगदानलाई जिवित राख्न ज्येष्ठ नागरिक चौतारी सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

चौतारीको उद्घाटन गर्दै बिर्तामोड–३ का वडाध्यक्ष भोजराज सिटौलाले ज्येष्ठ नागरिकहरुलाई समाजमा बोझको रुपमा नभई गहनाको रुपमा लिनुपर्ने बताए । कतिपय ठाउँमा ज्येष्ठ नागरिकको अपमान भइरहेका बेला स्वागत चोकमा निर्माण गरिएको ज्येष्ठ नागरिक चौतारीले वृद्ध बुवाआमाको सम्मान गरेको बताए ।

कार्यक्रममा समाजसेवी रुद्र सिटौला, मोहन शिवाकोटी लगायतले स्वर्गीय वेदनिधी  तिम्सिनाले समाजमा पु¥याएको योगदान तथा उनको निधनपछि श्रीमती निर्मलाले देखाएको उदारताको प्रशंसा गरे । ज्येष्ठ नागरिक चौतारी सञ्चालनमा आएसँगै त्यस क्षेत्रका वृद्ध बुवाआमाले खुशी व्यक्त गर्दै आफूहरुको सुख–दुःख साटासाटको थलो ज्येष्ठ चौतारी हुने बताए ।

उक्त स्थानमा खानेपाने र शौचालयको अभाव रहेको र उक्त विषयमा वडा कार्यालय तथा नगरपालिकासँग समन्वय गर्दै निर्माण प्रक्रिया अघि बढाइने स्थानीय दिनेश मैनालीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *