April 29, 2026

जुकेखाडीको बजेट चार करोड ३२ लाख बढी

0

अर्जुनधारा ।

झापाको अर्जुनधारा–३स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको २५औं उपभोक्ता भेला बिहीबार विभिन्न विषयहरु पारित गर्दै सम्पन्न भएको छ ।

समूहका अध्यक्ष दिव्यप्रसाद कट्टेलको अध्यक्षतामा आयोजित भेलाले अध्यक्ष कट्टेलद्वारा प्रस्तुत प्रगती प्रतिवेदन, लेखा समिति संयोजक रामकुमार महतद्वारा प्रस्तुत गत आर्थिक वर्ष ०७६/०७७को आन्तरिक लेखा परीक्षण प्रतिवेदन, कोषाध्यक्ष हरिराम शर्माद्वारा प्रस्तुत चालु आर्थिक वर्ष ०७७/०७८को वार्षिक बजेट, नीति तथा कार्यक्रम, विधान समिति सदस्य नरेन्द्र मिश्रद्वारा प्रस्तुत चौथो संसोधित विधान २०७७लगायत पारित गरेको छ ।

त्यसैगरी भेलाबाट पारित अन्य विषयहरुमा महालेखा परीक्षण प्रतिवेदन, कैदले पर्यापर्यटन प्रबद्र्धन आयोजनाहरु सञ्चालन, चालु आर्थिक वर्षको वार्षिक संकलन, थिनिङ, पुनिङ, सिलिङ, गोडमेल, झाडी सफाई, चालु आर्थिक वर्षमा मौज्दात साल लकडी चिरान तथा गोलिया बिक्री माग र बेरुजु फर्छौयट रहेका छन् ।

प्रस्तुत प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा दुई करोड ३३ लाख ६१ हजार नौ सय ४३ रुपैयाँ बराबरको कारोबार गरेको समूहले चालु आर्थिक वर्षको लागि अनुमानित चार करोड ३२ लाख नौ सय ५५ रुपैयाँ बजेट नीति तथा कार्यक्रम पेस गरिएको थियो । उक्त बजेट कार्यान्वयन गर्न लकडी, दाउरा, कृषि सामग्री र फर्निचर बिक्रीबाट दुई करोड ८९ लाख २५ हजार दुई सय २१ रुपैयाँ र अन्य आम्दानीबाट एक करोड ४२ लाख ७५ हजार सात सय ३४ रुपैयाँ आम्दानी गर्ने लक्ष्य प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै खर्चतर्फ पदाधिकारी पारिश्रमिकमा आठ लाख १६ हजार रुपैयाँ, कर्मचारी तलबमा ११ लाख ९६ हजार रुपैयाँ, प्रशासनिक खर्चमा १६ लाख ५५ हजार आठ सय ४९ रुपैयाँ, लकडी तथा दाउरा संकलनमा २० लाख २६ हजार ६६ रुपैयाँ, लकडी चिरान तथा व्यवस्थापन खर्चमा सात लाख २९ हजार सात सय आठ रुपैयाँ, घाटगद्दी व्यवस्थापनमा तीन लाख ७४ हजार पाँच सय रुपैयाँ, ट्रयाक्टर सञ्चालनमा दुई लाख ३० हजार रुपैयाँ, गरिबी न्यूनिकरणमा एक करोड दुई लाख १५ हजार रुपैयाँ, सार्वजनिक विकास निर्माण खर्चमा १६ लाख रुपैयाँ, फर्निचर निर्माणमा छ लाख ९२ हजार पाँच सय रुपैयाँ, वन विकासमा ७० लाख ७० हजार रुपैयाँ, अन्य खर्चमा एक करोड २५ लाख ९५ हजार तीन सय ३२ रुपैयाँ र कैदले पर्यापर्यटन साझेदारी कार्यक्रममा चालिस लाख रुपैयाँ विनियोजन गरिएको छ ।

राष्ट्रिय सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले उद्घाटन गरेको भेलामा संविधान सभा सदस्य प्रेमबहादुर गिरी, सब डिभिजन वन कार्यालय सुरुङ्गाका प्रमुख नथुनी गहिवार यादव, रेञ्जर राजेश घिमिरे, नगर सभा सदस्य निर्मला घिमिरे, पूर्व अध्यक्षहरु विष्णु दुलाल र बमबहादुर कार्की, सल्लाहकार दिपक दुलाललगायतको आतिथ्यता रहेको थियो । उपाध्यक्ष नारायण पौड्यालले स्वागत गरेको भेलाको सञ्चालन सचिव सरिता भण्डारीले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *