September 14, 2026

झापा मालपोतका कर्मचारीलाई कोरोना पुष्टि, मुद्दा शाखा बन्द

0

भद्रपुर।

भूमि सुधार तथा मालपोत कार्यालय झापाका एक जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मालपोतका मुद्दा शाखामा कार्यरत भद्रपुर नगरपालिका १० बस्ने ५० वर्षीय एक पुरुष कर्मचारीलाई कोरोना पुष्टि भएको भद्रपुर नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए ।

यता मालपोतका कर्मचारीलाई कोरोना पुष्टि भएसँगै मालपोतको मुद्दा शाखा बन्द गरिएको भूमि सुधार तथा मालपोत कार्यालय झापा प्रमुख योगेन्द्र दुलालले जानकारी दिए ।

‘मालपोतका एक जना कर्मचारीलाई कोरोना पुष्टि भएपछि कार्यालयको अन्य कामकाज प्रभावित हुन नदिन एउटा शाखा मात्र बन्द गराएका छौ, कार्यालय प्रमुख दुलालले भने, ‘मुद्दा शाखामा कार्यरत सबै कर्मचारी होम क्वारेन्टाइनमा बस्न आग्रह गरिसकेका छौँ ।’

यता पहिलो पटक मालपोतका कर्मचारीलाई कोरोना भेटिएपछि सरकारी कार्यालयमा सेवा लिन जाने सेवाग्राहीमा त्रास फैलिएको छ । पछिल्लो २४ घण्टामा मेची प्रादेशिक अस्पताल भद्रपुरको पिसिआर प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा १०१ जनाको रिपोर्ट आएको छ ।

त्यसमध्ये तीन जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी मनोजकुमार पोखरेलले जानकारी दिए । तीन जनामध्ये दुई जना भद्रपुर र एक जना अर्जुनधाराका रहेका छन् । मालपोत कर्मचारीसहित अर्को एक व्यक्ति भद्रपुर ५ का ३० वर्षीय पुरुषलाई कोरोना देखिएको नगर स्वास्थ्य शाखाका फोकल पर्सन भट्टराईले बताए ।

केही दिनअघि झापा कारागारमा छुटेर आएका ती पुरुषलाई कोरोना देखिएको उनले बताए । त्यस्तै अर्जुनधारा नगरपालिका ९ बस्ने ४५ वर्षीय स्थानीय पुरुषलाई कोरोना देखिएको हो । केही दिनअघि काठमाडौँमा झापा घर फर्किएका उनलाई कोरोना संक्रमण जस्तो लक्षण देखिएपछि बिर्तामोडको एक क्लिनिकमा उपचारका लागि गएको समेत बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *