September 15, 2026

मन्दिर पुनःनिर्माणमा बैंकको सहयोग

0

ललितपुर,

पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिर पुनःनिर्माणमा प्राइम बंैकले सहयोग गरेको छ । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनलाई बंैकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले आइतबार रु १० लाख हस्तान्तरण गर्नुभयो ।

भारत सरकाले पुनःनिर्माण गर्ने भनिएको सो मन्दिर भूकम्प गएको चार वर्ष बितिसक्दा पनि चासो नदेखाएपछि “ललितपुरको इतिहासमा दानदातव्य” भन्ने नारालाई पाटनवासीले अघि बढाई गतवर्षको असार १२ गते गाईको पुच्छरमा डोरी बाँधेर मन्दिरको गजुर निकाली भत्काउने काम शुरुआत गरेका थिए । मन्दिर पुनःनिर्माणमा स्थानीयवासी आफैँ जुटेपछि हिजो बैंकका अध्यक्ष श्रेष्ठले रु १० लाख सहयोग गर्नुभएको महर्जनले जानकारी गराउनुभयो ।

यसअघि वाणिज्य बैंकले रु पाँच लाख, एभरेष्ट बैंकले रु एक करोड सहयोग गरेको थियो । सो मन्दिर पुनःनिर्माणमा तदर्थ समितिका सदस्यहरुले रु ९० हजार र ललितपुर महानगरपालिकाले रु एक करोड सहयोग गरेको महर्जनले बताउनुभयो । ‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराका साथ मन्दिर पुनःनिर्माणमा सुन लेपन खर्चबाहेक रु चार करोड ९३ लाख लागत लाग्ने अनुमान गरिएको सङ्घका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम श्रेष्ठले जानकारी गराउनुभयो ।

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र पटक–पटकका पराकम्पनका कारण मन्दिरको माथिल्लो तलाको गारो थाम्ने, थाम, दलिन र बिम भाँच्चिएर भित्ता चिराचिरा भएका थिए ।” सो मन्दिर परिसरबाट आवतजावत गर्ने हजारांैँ स्वेदेशी र विदेशीलाई नोक्सानी पुग्ने डरका कारण पाटनका जनता मन्दिर पुनःनिर्माणमा अग्रसर भएर हाल धमाधम काम भइरहेको श्रेष्ठको भनाइ छ ।

मन्दिरको गजुर, तामा र धातुको पातालगायत अन्य महत्पूर्ण वस्तु रेखदेखको जिम्मा पुरातत्व विभाग, स्मारक संरक्षक तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालयको निगरानीमा रहेको छ । चार शताब्दी पुरानो इतिहास बोकेको मल्लकालमा निर्मित भीमसेनको मन्दिर उपत्यकाकै नमूनाको धरोेहरका रुपमा प्यागोडा शैलीमा निर्माण भएको थियो ।

मन्दिर निर्माणमा लाग्ने सम्पूर्ण प्राविधिक सहयोगको जिम्मा काठमाडौंँ भ्याली प्रिजर्भेशन ट्रष्टले लिएको छ । मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट, मङ्गल टोल सुधार समिति, ललितपुरभरिका जातीय समाजलगायत विभिन्न सङ्घसंस्था लागि परेका छन् ।

मन्दिरको माथिल्लो तल्लाको गजुर तथा धातुका छाना निकाल्ने तथा मर्मतपश्चात् पुनः राख्ने कामको जिम्मा भने पाटन हौगल टोल निवासी कल्याणकृष्ण ताम्राकारले लिनुभएको छ । यसैगरी मन्दिरलाई चाहिने डाँची र ईट्टा दक्षिण बाराही ब्रिक फ्याक्ट्रीका हीराकाजी महर्जन र तीर्थलाल महर्जनले उपलब्ध गराउने सङ्घले जनाएको छ ।

पाँच पाण्डवका माइला भाई भीमसेनलाई नेवारहरुले आराध्य देवका रुपमा पुज्ने गरेका छन् । भीमसेन मन्दिरको दर्शन र पूजाआजा गर्नाले व्यापार फलिफाप हुने विश्वास आम व्यवसायीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *