September 21, 2026

अब एसिड छ्यापे २० वर्ष कैद र १० लाख जरिवाना

0

काठमाडाैं।

सरकारले तेजाब (एसिड) सम्बन्धी कसुर नियन्त्रण गर्न अध्यादेशमार्फत नयाँ कानुन ल्याउने तयारी गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले तेजाबसम्बन्धी अध्यादेश पारित गर्दै राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ ।

मन्त्रिपरिषदबाट पारित फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेशमा पहिलेभन्दा कडा प्रावधान समेटिएको छ । अब तेजाब फ्याँकी, छर्किई, खन्याई वा प्रयोग गरी वा सेवन गराई अङ्गभङ्ग तुल्याएमा र शारीरिक क्षति पुर्‍याएमा २० वर्षसम्म कैद सजाय र १० लाख रुपैयाँसम्म जरिवाना निर्धारण गरिएको छ ।

फौजदारी अपराध संहिताको दफा १९२ र १९३ संशोधन गरी तेजाबजस्ता घातक रसायन छ्यापी दुवै आँखा जले, दृष्टि गुमेमा, दुवै कान जली क्षति भई सुन्ने शक्ति नष्ट भए वा कानको जाली क्षति भई काम नलाग्ने भएमा, अनुहार पूर्ण रूपमा जलेमा, वक्षस्थल (स्तन), यौनाङ्ग आदि जलेर क्षति भए बीस वर्षसम्म कैद र १० लाख रुपैयाँ जरिवाना निर्धारण गरिएको छ । यो सजाय एक दिन पनि माफी–मिनाहा नहुने र पूरै अवधि जेल बस्नुपर्ने प्रावधान राखिएको छ ।

संशोधित संहितामा तेजाव प्रयोग गरेर एउटा आँखा, एउटा कान, जले, क्षति पुगे, अनुहार कुरुप भए, एउटा स्तन जले दुवै हात जली काम नलाग्ने भएमा, गोडा पूर्णरूपमा जलेर काम नलाग्ने भएमा, टाउकाको कुनै भाग, मेरुदण्ड जलेमा सात देखि दसवर्ष कैद सात लाखदेखि दसलाखसम्म जरिवाना निर्धारण गरिएको छ ।

त्यस्तै तेजाब छ्यापेर शरीरको कुनै अङ्गमा गति भएमा कसुरको प्रकृतिअनुसार पाँचदेखि दसवर्षसम्म कैद र एक लाखदेखि पाँच लाख जरिवाना निर्धारण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष निर्देशन दिएपछि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा गरेर ऐन बनाएको हाे ।

गत २५ भदौमा प्रधानमन्त्री निवास बालुवाटारमा एसिड आक्रमणका पीडितसँग सामूहिक छलफलका क्रममा प्रधानमन्त्री ओलीले कडाभन्दा कडा कानुन बनाएर १५ दिनभित्र मन्त्रिपरिषद्मा पेस गर्न निर्देशन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *