June 13, 2026

अलोकतान्त्रिक क्रियाकलाप

संघीयताको विरोधमा प्रचारात्मक अभियान सञ्चालन गर्न देशको पूर्वी भाग आएको राष्ट्रिय जनमोर्चाको टोलीलाई लिम्बुवानवादी संघ–संगठनले विभिन्न स्थानमा अवरोध खडा गर्दै लखेटने प्रयास गरिरहेका समाचार प्रकाशनमा आएको छ । यही भदौ १०देखि असोज ५गतेसम्म जनमोर्चाले घोषणा गरेरै देशव्यापी राष्ट्रिय प्रचारात्मक अभियान चलाएको हो । मेचीका झापा, इलाम र पाँचथर जिल्लामा सो टोलीले गरेको कार्यक्रमहरुमा लिम्बुवानका कार्यकर्ताले श्रृंखलाबद्ध आक्रमण गरेको कुरा राजमोका केन्द्रीय सदस्य सुरेन्द्र भण्डारीले बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताउनुभएको छ ।
राजमोको राष्ट्रिय प्रचारात्मक अभियानको सन्दर्भमा इलामको फिक्कल र इलाम बजार, पाँचथरको फिदिमबजार र याशोकमा आयोजित कार्यक्रमहरुमा आक्रमण गरिसकेको र झापाको बिर्तामोडमा पनि हालै आक्रमण भएको तथ्य पत्रकार भेटघाट कार्यक्रममा मोर्चाले सार्वजनिक गरेको छ । मोर्चाको सभाहरुमा लिम्बुवानी कार्यकर्ताले झण्डा, व्यानर, च्यातिदिने, कार्यकर्ता तथा नेताहरुमा हातपात गर्ने र सभामा अवरोध सिर्जना गर्ने काम भएको बताइएको छ ।
देशमा आएको नयाँ गणतान्त्रिक व्यवस्थाको संस्थागत विकास, राष्ट्रियताको रक्षा र संघीयताको विरोधमा मोर्चाले देशव्यापी रुपमा प्रचारात्मक अभियान चलाइरहेको छ । लोकतन्त्रमा सबैले आ–आफ्नो विचार राख्न पाउने, सभा समारोह गर्न पाउने अधिकार हुन्छ । त्यसबाट कुनै व्यक्ति, समूह वा दललाई बञ्चित गर्न सकिँदैन । ‘जसको शक्ति उसको भक्ति’ भन्ने कथन अलोकतान्त्रिक हो । देशमा नयाँ संविधान चाहिएको छ । संविधानविहीनताको अवस्थामा रहेको अहिलेको अवस्थामा सरकारले संविधानसभाको निम्ति दोस्रो आम निर्वाचनको पनि तिथि तोकेर त्यस सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिसकेको छ ।
र, संविधानसभाको निर्वाचन आज देशको मुल राजनीतिक आवश्यकता हो । भयरहीत वातावरणमा संविधानसभाको चुनाव सम्पन्न गर्ने स्थिति सिर्जना गर्नु सरकारको दायित्व हो नै । अन्य राजनीतिक दल र आम जनसमुदायको पनि उत्तिकै जिम्मेवारी छ । जनमोर्चाले थालेको अभियान उसको पार्टीको स्थापनाकालदेखि कै हो । भर्खरै बनाएको नयाँ होइन । मुलुकको दीर्घकालीन विकास र प्रगतिको लागि देशमा जातीय सद्भावको आवश्यकता छ । आपसी द्वेष फैल्याउने अलोकतान्त्रिक–क्रियाकलाप कसैबाट गरिनु हुन्न ।