April 30, 2026

अध्यक्ष ज्यू म जीवनको अन्तिम
प्रहरमा पागलखानाबाटै भागेर
मृत्यु दर्ता गर्न आएकी हुँ ,
हो यो देशको कानुन,नीति र
राजनीतिले निलेका मेरा
आधा दर्जन सन्तानको
आज एकमुष्ट मृत्यु दर्ता
गर्न म आएकी हुँ।
मृत्युु दर्ता गर्न म
आएकी हुँ।।

यो धर्तीमा मैले जन्माएका
सबै सन्तानहरुले
न काखमा रहन पाए
न तिम्रो कार्यालयको
त्यो ठूलो रजिस्टारमा
लेखिएको जन्मदर्ताको
नामले रहन पाए
तिम्रै देशको कानुन
नीति र राजनीतिले
कहीँकतैका हुन नदिएका
मेरा सन्तानको मृत्यु
हुनेको खातामा आज
स्थान निर्धारण गर्न आएकी हुँ
हो तिनै हराएका मेरा सबै सन्तानको
मृत्युु दर्ता गर्न म पागलखानाबाटै
भागेर आएकी हुँ।।

मेरा हराएका सन्तानको मृत्युको
तिथिमिति नसोध त्यो त
तिमीलाई नै थाहा होला
मलाई त यति मात्रै थाहा छ
बिहानै दुधभात खुवाएर
सुनौलो भविष्य लिन
झोलाभरि किताब बोकी पठाएको
अनि साँझमा चार सन्तान
फर्की नआएको
स्कुलबाटै बेपत्ता भएको
वर्षौ बितिसक्दा पनि
केही पत्तो नगागेका
हो तिनै चार सन्तानको मृत्यु
दर्ता गर्न म पागलखानाबाटै
भागेर आएकी हुँ
गरिबीको चपेटामा पर्दा
जागिर खुवाउने वाचामा तिमीले नै
बेचाएकी मेरी कलकलउँदी
छोरीको पनि
केही खबर छैन त्यसैले अब
उसको पनि मृत्युु दर्ता गर्न म
पागलखानाबाटै भागेर
आएकी हुँ ।।

मलाई मात्रै यो मेरो हातमा
भएको आलो रगतको
जातीय विभेदबाट भएको
मृत्युु थाहा छ,
जुन भर्खरै मैले भेरिबाट
हात चोबेर तिमीलाई देखाउन
ल्याएकी छु,
अब यही रक्त रेखा हेरी
मेरो अन्तिम सन्तानको पनि
मृत्युु दर्ता गराइदिनू
मेरा हातका रक्त रेखाबाट
बुझ्न नसके तिम्रा आपनै
हातमा हेर कहीँ छुटेका
रक्तकणले भन्नेछन् सबै
तिथिमिति अनि मृत्यु
दर्ता हुनेछ मेरा सबै
हराएका सन्तानको
हो साच्चिकै मृत्यु दर्ता हुनेछ
मेरा आधा दर्जन सन्तानको
त्यसैले अध्यक्ष ज्यू म मर्नुभन्दा
अगाडि मेरा सबै सन्तानको
मृत्यु दर्ता गर्न पागलखानाबाटै
भागेर आएकी हुँ।

जुना खड्का
शुक्लागण्डकी १०,
तनहुँ

1 thought on “मृत्यु दर्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *