April 30, 2026

पीसीआर ल्यावका लागि रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानद्वारा दुई लाख पाँच हजार

0

बिर्तामोड ।

झापामा एकका लागि एक अभियानको अगुवाईमा स्थापना गर्न लागिएको पीसीआर ल्यावका लागि रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले दुई लाख पाँच हजार एक सय ११ रुपैयाँ प्रदान गरेको छ ।

भद्रपुर–७ स्थित उक्त प्रतिष्ठानका तर्फबाट आइतबार बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक विनोद बस्नेतलाई उक्त रकमको चेक प्रदान गरियो । प्रतिष्ठानका सचिव यज्ञराज (गोपाल)ओली, कोषाध्यक्ष नारायणप्रसाद ओली र सदस्य नारदमणि न्यौपानेले चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रतिष्ठानका सचिव गोपालले जनस्तरबाट मुलुकमै पहिलोपटक हुन लागेको कामको प्रशंसा गर्दै उक्त अभियानप्रति ऐक्यबद्धता जनाउन सहयोग रकम हस्तान्तरण गरिएको बताए । प्रतिष्ठानका संस्थापक मध्येका एक एवम् संस्थापक सदस्य बद्रीप्रसाद ओलीको स्मृतिमा प्रतिष्ठानले पिसिआर ल्याव खरिदका लागि उक्त प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा उपचारका लागि झापामा एकका लागि एक अभियानले निर्वाह गरिरहेको भूमिकाबाट आफूहरु प्रभावित भएको प्रतिष्ठानका पदाधिकारीले बताए । उक्त प्रतिष्ठान तथा सो संस्थाका सचिव गोपाल ओलीको समन्वयमा शिवसताक्षी–८ झिलझिलेस्थित छिमेकी बचत तथा ऋण सहकारी संस्थाले ५१ हजार एक सय ११ रुपैयाँ अभियानलाई प्रदान गर्ने घोषणा गरेको संस्थाका पर्शुराम ढुंगानाले बताए ।

त्यस्तै शिवसताक्षी–७ स्थित देउमाइ बचत तथा ऋण सहकारी संस्थाले २५ हजार एक सय २५ रुपैयाँ प्रदान गर्ने सो संस्थाका अध्यक्ष मणिप्रसाद खपतरी खड्काले घोषणा गरे । त्यस्तै बिर्तामोड निवासी शेखर–आसा ढकालले १० हजार एक सय एक रुपैयाँ, कृष्ण–माया प्रसाईंले १० हजार एक सय एक रुपैयाँ, जीवन–शारदा रिजालले पाँच हजार एक सय एक रुपैयाँ प्रदान गरेको अभियानका सदस्य गजेन्द्र पौडेलले जानकारी दिए ।

एकका लागि एक अभियान अन्तर्गत हालसम्म ७० लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । जसमध्ये विपन्न परिवारलाई राहत, भिटीएम किट, विपन्नलाई खाना लगायतका शीर्षकमा करिब ४० लाख रुपैयाँ खर्च भएको छ ।

पिसिआर ल्याव खरिदका लागि अभियान अन्तर्गत ३० लाख रुपैयाँ जुटिसकेको सहसंयोजक विनोद बस्नेतले बताए । अभियानका अगुवाईमा पीसीआर ल्याव खरिदका लागि अन्तर्राष्ट्रिय झापाली समाज र सहकारी अभियानको तर्फबाट २५÷२५ लाख रुपैयाँ प्रदान गर्ने घोषणा यसअघि नै भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *