September 15, 2026

भद्रपुर नगरपालिकाको लापरबाहीले कोरोना संक्रमित घर पुगे

0

झापा,

भद्रपुरमा कोरोना भाइरस संक्रमण पुष्टि भएका तीनजना एक दिन घर बसेको खुलेको छ। भद्रपुर नगरपालिकाको लापरबाहीले उनीहरू घर पुगेका हुन्।

भारतबाट आएर भद्रपुरस्थित क्वारेन्टाइनमा बसेका भद्रपुर–१ का ५६ वर्षीय पुरुष र वडा नम्बर ३ का १९ वर्षीय पुरुष र कचनकवल गाउँपालिका–६ का ४५ वर्षीय पुरुषमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना पुष्टि हुनुभन्दा एक दिनअघि भद्रपुर नगरपालिकाले संक्रमित तीनजनासहित ११ जनालाई बसमा हालेर आ–आफ्नो घर पठाएका थिए।

उनीहरु कलवलगुरीको क्वारेन्टाइनमा बसेका थिए। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ११ जनामध्ये ८ जनाको रिपोर्ट पठाएको थियो। तर, नगरपालिकाको स्वास्थ्य शाखाले सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै उनीहरूलाई घर पठाएका थिए।

नेपाली सेनाको प्रत्यक्ष निगरानीमा रहेको कलवलगुरीको क्वारेन्टाइनका सबै जनाको रिपोर्ट नेगेटिभ आएको भनी भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी गराएपछि उनीहरूलाई घर जान अनुमति दिएको एक सुरक्षाकर्मीले बताए।

नगरपालिकाले स्कुल बस भारतबाट आउनेलाई क्वारेन्टाइन र घर पुर्याउँदै आएको छ। तीनजना संक्रमितसँगै बसमा नगरपालिकाका एक चालक, नगर प्रहरी र नगरप्रमुख श्रेष्ठ पनि चढेको बताइएको छ। यता नगर प्रमुख श्रेष्ठ, चालक र नगर प्रहरीलाई जिल्ला जनस्वास्थ्य कार्यालय झापाले सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव दिएको छ।

प्रमुख श्रेष्ठले नगरपालिकाका स्वास्थ्य शाखाको कमजोरी भएको स्वीकारेका छन्। उनले आफूसहित चालक र नगर प्रहरी पनि क्वारेन्टाइनमा बस्ने बताए। नगरपालिकाको लापरबाहीले संक्रमित घरमा पुगेपछि सामाजिक सञ्जाल व्यापक आलोचना भइरहेको छ। गाउँमा त्रास फैलिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *