September 15, 2026

सहुलियतको मलखाद व्यापारीका हातमा

0

लुम्बिनी,

बीउ राख्ने बेलामा मलखादको अभाव भएको जनगुनासो बढेपछि प्रदेश नं ५ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सोमबार आकस्मिक रुपमा मलखाद गोदामको निरीक्षण गर्नुभएको छ । अवलोकनपछि मन्त्री पौडेलले सहकारीले पारदर्शी ढंगले वितरण नगरेको देखिएकाले अबका दिनमा कडाइ गरिने बताउनुभयो ।

मन्त्री पौडेलले कृषि सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय भैरहवाको गोदाम तथा कार्यालयमार्फत वितरण गरिएको मलखादको तथ्यांक जाँच गर्दै भन्नुभयो, “ग्रामीण क्षेत्रका किसान संलग्न सहकारीले भन्दा बजारका बचत सहकारीले धेरै मलखाद लगेको देखिएको छ । यसो हुनुहुँदैन ।”

सहकारीले वडाध्यक्षका सिफारिसमा बिक्री केन्द्रका नाममा मलखाद ल्याउने र बेच्ने गरेका छन् । यसबाट सहुलियतको मलखाद व्यापारीको हातमा पुगेको देखिन्छ ।

कृषि सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यलयका प्रमुख अजय श्रीवास्तवले वडाध्यक्षले सिफारिस गरेका आधारमा विगतका वर्र्षदेखि नै मलखाद दिने गरिएको बताउनुभयो । श्रीवास्तवका अनुसार बन्दाबन्दीका कारण भारतको बन्दरगाहमा मलखाद आएर रोकिएकाले समस्या देखिएको हो ।

किसानका लागि मलखादको प्रबन्ध मिलाउने जिम्मेवारी नेपाल सरकारले कृषि सामग्री केन्द्र लिमिटेड र साल्ट ट्रेडिङ लिमिटेडलाई दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *