September 14, 2026

आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखिँदै

0

काठमाडौं,

वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ।

आज दल राखिएको तुलसी एक महीनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ। आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको पूजा आराधना गरिन्छ। यो चार महीने अवधिलाई चतुर्मासा समेत भनिन्छ। आयुर्वेदमा उल्लेख भए अनुसार तुलसी रोपिएको स्थानलाई पवित्र मानिन्छ।

तुलसी भएको स्थानमा मलेरिया फैलाउन सक्ने विषाक्त वायु समेत हटाउने क्षमता हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएको छ। तुलसीमा सबै प्रकारका प्रदूषणलाई हटाएर स्वच्छता कायम गर्न सक्ने क्षमता हुन्छ। सनातन हिन्दू धर्मावलम्बीले जीवनको अन्तिम क्षणमा पुगेकालाई तुलसी मिश्रित जल पिलाउने गर्छन्।

यसो गर्दा आत्मा पवित्र हुने र लोकान्तर प्राप्तिमा सहयोग पुग्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग प्राडा रामचन्द्र गौतम बताउँछन्। यस्तै महत्व भएको प्रमाणित भएपछि नै ऋषिमुनिले तुलसीलाई घरमा रोपी पूजा आराधना गर्ने रीत बसालेको जानकारी पनि उनले दिए। तुलसीको पूजा आराधाना हुने घरलाई तीर्थको रुप मानिन्छ।

यस्तो घरमा यमदूत समेत प्रवेश गर्दैनन् भन्ने विश्वास समेत छ। तुलसी पत्रले हरि एवं हरको पूजा गर्नेले फेरि गर्भमा आउनु पर्दैन भन्ने मान्यता छ। तुलसीको पूजा आराधना गर्नेले मोक्ष प्राप्ति गर्छन् भनी विभिन्न पुराणमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *