September 13, 2026

हत्यामा संलग्न दोषीलाई हदैसम्मको कानूनी कारबाही गर्न माग

0

विर्तामोड,  संयुक्त राजनीतिक दलित संघर्ष समिति झापाले कर्णाली प्रदेशको रुकुम पश्चिम चौरजहारीको सोतीमा गत जेठ १० गते जातीय भेद्भावका कारण भएको हत्यामा संलग्न दोषीलाई हदैसम्मको कानूनी कारबाही गर्न माग गरेको छ ।

संयुक्त राजनीतिक दलित संघर्ष समिति झापाले जिल्ला प्रसाशन कार्यालय झापा मार्फत प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा वादललाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो ।

रुकुम पश्चिम चौरजहारीको सोतीमा अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर शनिबार भएको घटनामा जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विकसहित अन्य ६ जनाको हत्याको विरोध गर्दै घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गरी हत्यामा संलग्न दोषीलाई हदैसम्मको कानूनी कारबाही गर्नुपर्ने , उक्त घटनामा ज्यान गुमाउने व्यक्तिहरुलाई साँस्कृतिक शहीद घोषणा गरी पीडित परिवारलाई उचित क्षतिपूर्ती र घाइतेहरुलाई उपचार गर्नुपर्ने समेत माग गरिएको छ ।

संविधानमा नै जातीय छुवाछूत तथा भेदभाव विरुद्धको हकलाई मौलिक हकको रूपमा संस्थागत गरिएको भएपनि जातिकै आधारमा दलित समुदायका व्यक्तिको निर्मम हत्या हुनु कानूनी राज्य र विधिको शासनको बर्खिलाफ भएको ज्ञापन पत्रमा उल्लेख छ ।
झापाका सबै राजनीतिक दल संबद्ध दलित संघ संगठन, दलित अधिकारकर्मी, संघ संस्था सम्मिलित बिर्तामोडमा भएको भेलाले नेपाल कम्युनिष्ट पार्टी झापाका सचिवालय सदस्य एवम् युवा नेता हुकुमसिंह नेपालीको संयोजकत्वमा ३५ सदस्यीय संयुक्त राजनीतिक दलित संघर्ष समिति झापा गठन गरि हत्यामा संलग्न दोषीलाई हदैसम्मको कानूनी कारबाही गर्न माग गरेको हो ।

संयुक्त राजनीतिक दलित संघर्ष समिति झापाका संयोजक हुकुमसिंह नेपालीको नेतृत्वमा पूर्व साँसद तथा राष्ट्रिय दलित आयोगका सदस्य पूर्व टेकवहादुर साशंकर , नेपाल उत्पिडित जातिय मुक्ति समाज झापाका अध्यक्ष भोला परियार, दलित मुक्ति मोर्चा झापाका अध्यक्ष सुरेश बराइली, नेपाल दलित संघका केन्द्रीय सदस्य हस्त परियार , नेपाल दलित संघका झापा सभापति दलबहादुर ल्वागुन विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी उत्पिडित उत्थान संगठन झापाका अध्यक्ष गोपाल गजमेर, नेपाल दलित एकता सञ्जाल झापाका सचिव शुशिल बराइली, दलित समन्वय समिति धनकुटाका पूर्व उपाध्यक्ष हरिकुमार नेपाली, नेपाल कम्युनिष्ट पार्टी झापाका जिल्ला सदस्य श्याम ल्वागुन लगायतको टोलीले जिल्ला प्रसाशन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी उदयवहादुर रानामगरलाई ज्ञापन पत्र वुझाएको थियो ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मगरले सम्वन्धित निकायमा ज्ञापन पत्र पठाउने बताएका थिए ।
संयुक्त राजनीतिक दलित संघर्ष समिति झापाले जातीय भेद्भावका कारण भएको हत्यामा संलग्न दोषीलाई हदैसम्मको कानूनी कारबाही गर्न माग गर्दै झापामा आन्दोलनका कार्यक्रम गर्ने उत्पिडित विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष तथा नेकपाका युवा नेता टिकाराम मंग्रातीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *