अर्जुनधारा–१० का विपन्न परिवारलाई लक्षित गर्दै खाद्यान्न सामग्री
अर्जुनधारा ।

झापाको अर्जुनधारा–१० का विपन्न परिवारलाई लक्षित गर्दै अर्जुनधारा जेसीज शनिश्चरे र बिर्तामोडका दुई जना युवा व्यवसायीले अर्जुनधारा–१० वडा समितिलाई बिहीबार खाद्यान्न सामग्री प्रदान गरेको छ ।
अर्जुनधारा जेसीज शनिश्चरेले दुई क्वीन्टल चामलसँगै ३० केजी दाल र बिर्तामोड–५का युवा व्यवसायीद्धय कृष्णकुमार गिरी र राम सिटौलाले १२ क्वीन्टल चामल समितिलाई प्रदान गरेको हो ।
जेसीजकातर्फबाट अध्यक्ष भास्कर भट्टराई र नेपाल जेसीजका जनसम्पर्क अधिकारी अजय देवले वडाध्यक्ष बलदेवसिंह गोम्देनलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेका थिए । वडा सदस्य भोला गौतमका अनुसार हालसम्म वडाका ६२५ परिवारलाई राहतस्वरुप खाद्यान्न सामग्री वितरण गरिएको र थप तीन सय परिवारको लागि स्टक रहेको जानकारी दिए ।
हालसम्म अर्जुनधारा जेसीजले लकडाउनका समयमा जम्मा ८५ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरेको महासचिव वसन्त बुढाथोकीले जानकारी दिए ।

पहिलो चरणमा नगरका सञ्चार गृहहरुलाई मास्क र ह्यान्ड सेनिटाइजरसँगै अपाङ्ग तथा बाल शिक्षा सरोकार केन्द्रलाई साबुन र ह्यान्ड सेनिटाइजर वितरण गरेको जेसीजले नगरका विभिन्न चार स्थानमा सामग्रीसहितको हात धुने ठाँउको व्यवस्थापन गरेका थिए ।
त्यसैगरी दोस्रो चरणमा अर्जुनधारा नगरपालिकालाई नौ सय ९० केजी चामल वितरण गरेको थियो ।
