झापाका आइसोलेसन वार्ड खाली ,मेचीनगरमा सयभन्दा बढीको परीक्षण
लक्ष्मी उप्रेती / काँकरभिट्टा,

झापा जिल्लामा सवैभन्दा बढी मेचीनगर नगरपालिकामा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमणको परीक्षण गरिएको छ । विश्वमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै जादा नेपालमा समेत यसको रोकथाम र नियन्त्रणमा सवै संयन्त्रहरु परिचालन गरिउको थियो । त्यही अनुसार झापामा समेत यसको रोकथामका लागि विभिन्न उपायहरु अवलम्बन गरिएको थियो ।
स्वास्थ्य कार्यालय झापाका महामारी रोग फोकल पर्सन तथा जिल्ला विपदु व्यवस्थापन समिति कक्षका सचिव जीवन चौलागाईँका अनुसार मेचीनगरमा १६ महिलासहित १ सय ३२ जनामा कोरोना भाइरसको एन्टीबडी परीक्षण गरिएको थियो । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) तथा पीसीआर विधिबाट परीक्षण गरेको हो ।
त्यसैगरी भद्रपुर नगरपालिकामा ८८ पुरुष र ४ महिला गरी ९२, कनकाई नगरपालिकामा ८० पुरुष र ९ महिलागरी कुल ८९ र दमक नगरपालिकामा ७७ पुरुष र २३ महिला गरी एकसयजनाको परीक्षण गरिएको थियो । सवै जनाको रिपोट नेगेटिभ आएको छ ।
झापामा २१ वटा आइसोलेसन वाडमा रहेका सवैको आरडीटी र पीसीआर नेगेटिभ आएपछि घर गइसकेका छन भने अहिले झापाको आइसोलेसन वाड खाली भएको अवस्था छ । त्यसैगरी ३ सय ५० वेड क्षमताको क्वारेन्टाइनमा अहलिे १३ महिला र १ सय ३३ पुरुषगरी १ सय ४६ जना सामुदायिक क्वारेन्टाइनमा रहेका छन् ।
लागूऔषध प्रयोगकर्ताले हैरान
लागूऔषध प्रयोगकर्ता लकडाउन कार्यान्वयनमा समस्या बनेको र अहिले झापाका सवै पालिकाहरुको मुख्य चूनौती भनेकै उनीहरुको व्यवस्थापन बनेको छ । यो कुनै एउटा पालिकाको मात्र समस्या नभएर झापाका प्रत्येक पालिकाहरुको सामुहिक समस्या बनेको विहीबार मेचीनगरमा आयोजित छलफलमा सहभागी नगर प्रमुखहरुले धारणा राखेका छन् ।
खुला सिमानाका कारण नेपालका विभिन्न स्थानबाट लागूऔष सेवनका लागि झापा आइपुग्ने उनीहरुको भनाई छ । यसबाट सवैभन्दा बढी मेचीनगर नगरपालिका मार खेप्न बाँध्य रहेको नगर प्रमुख विमल आचार्यले बताए ।
नेपाल सरकारले नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन घोषणा गरेको लकडाउनले सम्म उनीहरुलाई नछेकेको नगरप्रमुख आचार्यको भनाई छ । लागूऔषध सेवन गर्न नपाएपछि झापामात्र नभई काठमाण्डौसम्मका धेरै प्रयोगकर्ताहरु काँकरभिट्टासम्म आउने गरेको उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ ।
कहिले डाक्टर त कहिले विरामीको परिचय दिदैं लागूऔषध सेवनका लागि यति टाढासम्म आउने गरेका छन् । केही दिनअघिमात्र २ जना डाक्टरको परिचय दिदैं काठमाण्डौबाट आएका र अनुसन्धानमा डाक्टर नभएपछि दुवैलाई पक्राउ गरी १४ दिनसम्म क्वारेन्टाईनमा राखेर पठाइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।
लागूऔषध प्रयोगकर्ताले हैरान दिन थालेपछि अहिले मेचीनगर नगरपालिकाले मेचीनगर–८ स्थित आदर्श माध्यमिक विद्यालय आयावारीलाई विशेष क्वारेन्टाइनका रुपमा अघि बढाएको छ । प्रदेश सभा सदस्य, नगरभित्रका तीनवटा पुनःस्थापना केन्द्रका सञ्चालकहरु, राजनीतिक दल, स्थानीय प्रशासनसगको समन्वय र सहकार्यमा विश्ेष क्वारेन्टाइन सञ्चालनमा ल्याएर लागूऔषध प्रयोगकर्ताहरुलाई बुधबारदेखि उपचार गर्न थालिएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले बताइन् ।
पहिलो दिन नै आधा दर्जनलाई क्वारेन्टाइनमा राखिएको थियो । पुनःस्थापना केन्द्रका सञ्चालकहरुले उनीहरुलाई परामर्श दिने, स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाउने र नगरपालिकाले खानपिनदेखि सवै कुराको व्यवस्थापन मिलाउने गरी उनीहरुलाई त्यहा राखिएको हो । विशेष क्वारेन्टाएनमा खाने वस्ने उचित प्रवन्ध छ । उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने, त्यसपछि स्वास्थ्य परीक्षण गरेर थप प्रक्रिया अघ बढाइने छ । नगरप्रमुख आचार्यका अनुसार झापा बाहिर भए अभिभावकको जिम्मा लगाउने, ठुलै अपराध गरेको भए कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढ्ने तथा सुधार गृहमा बस्न चाहानेलाई सहुलियत रकममा बस्ने व्यवस्था मिलाइने छ ।
पछिल्लो समय अन्य पालिकाहरुले समेत लागूऔषध प्रयोगकर्ताहरुलाई कुलतबाट छुटाउन विशेष क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने धारणा समेत अघि बढाएका छन् । विभिन्न ठाउाँबट आएर स्थानीयवासीलाई हैरान पार्ने गरेको सामुहिक पीडा नियन्त्रण गर्न सवै पालिका अघि बढ्नुपर्ने उनीहरुको भनाई थियो ।
विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, शिवसताक्षी नगरपालिकका प्रमुख चन्द्रकुमार शेर्मा उपप्रमुख भोजकुमारी दाहाल, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले लागूऔषध सेवकर्ता पछिल्लो समय टाउको दुखाईको विषय बनेको बताए ।
