सर्वोच्चको आदेश कार्यान्वयन हुने आसमा मजदुर
बैतडी ।
भारतीय सीमा क्षेत्रमा क्वारेन्टाइनमा बसेका नेपाली मजदुरले सर्वोच्च अदालतको आदेश कार्यान्वयन हुने आस गरेका छन् । सर्वोच्चको आदेश कार्यान्वयन गरेर आफूहरूलाई स्वदेश फर्काउन सबैले सहयोग गर्नुपर्ने मजदुर नवीन बोहराले जानकारी दिनुभयो । भारतीय क्वारेन्टाइनमा बसोबासका लागि निकै समस्या भएकाले आफूहरूलाई स्वदेश फर्काई स्वदेशकै क्वारेन्टाइनमा राख्न उहाँहरूले आग्रह गर्नुभयो ।
भारतीय क्वारेन्टाइनमा बसोबासको समस्या भएकाले आफूहरूलाई स्वदेश फर्काउन आग्रह गरेको मजदुर हरिप्रकाश भट्टले बताउनुभयो । सर्वोच्चले सीमामा रहेका नेपाली नागरिकलाई स्वदेशमा ल्याएर क्वारेन्टाइनमा राख्न आदेश दिएको भए पनि सो आदेश कार्यान्वयन हुनसकेको छैन । सीमावर्ती भारतीय क्षेत्रमा क्वारेन्टाइनमा बसेका नागरिकले बसोबासको समस्या हुँदा अन्य सरुवा रोगको जोखिम भएको समेत बताएका छन् ।
एकै कोठामा धेरै मानिस सुत्नुपर्ने भएकाले विभिन्न रोगको जोखिम रहेको नेपाली मजदुर दीर्घराज जोशीले बताउनुभयो । आफूहरूलाई भारतीय क्वारेन्टाइनमा बसेको २२ दिन हुनै लाग्दासमेत स्वदेश फर्कन नपाउँदा खल्लो लागेको उहाँले बताउनुभयो ।
गर्मीको समयमा धेरै जना एकै ठाउँमा बस्दा छालासम्बन्धी रोग, झाडापखाला र अन्य सरुवा रोगको सङ्क्रमण हुनसक्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताउनुभयो । भारतीय बजार झुलाघाटमा २५० भन्दा बढी र धारचुलामा एक हजारभन्दा बढी नागरिक क्वारेन्टाइनमा बसिरहेका छन् । तीमध्ये बैतडीका मात्रै ९०० छन् ।
