५० श्ययाको छुट्टै ‘कोरोना वार्ड’ निर्माण शुरु
कैलाली,
धनगढीमा कोरोना सङ्क्रमितको उपचारका लागि ५० श्ययाको छुट्टै ‘कोरोना वार्ड’ निर्माण शुरु भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र कञ्चनपुरको महाकाली अस्पताललाई ५०÷५० श्ययाको छुट्टै कोरोना वार्ड निर्माणका लागि रु एक÷एक करोडको अख्तियारी दिएपछि वार्ड निर्माण शुरु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिनुभयो ।
उहाँले सेती प्रादेशिक अस्पतालअन्तर्गत सञ्चालन हुने गरी ती निर्माण भइरहेको बताउनुभयो । वार्डको भवन निर्माणका लागि किनारा कन्स्ट्रक्सन प्राइभेट लिमिटेडसँग रु ९४ लाखमा एक महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको निर्माणको अख्तियारी पाएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताउनुभयो ।
“एक महिनाभित्र वार्ड निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता भए पनि जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीबाट निर्माणको काम छिटो गर्नुपर्ने भन्ने निर्देशन आएपछि निमार्णकार्यलाई अझै तीव्रता दिइएको छ”, निमित्त प्रमुख धामीले भन्नुभयो, “दिन र रात गरी काम अघि बढिरहेको छ, १५ दिनभित्र वार्ड निर्माणको काम सम्पन्न हुनसक्छ ।”
वडा प्रहरी कार्यालय धनगढीको ठीकविपरीत दिशातर्फ रहेको कैलाली जिल्ला समन्वय समतिको जमीनमा सो वार्ड निर्माण भइरहेको छ । भवनमा एउटा ठूलो हल र बाँकी अन्य आइसोलेसन श्यया रहने बताइएको छ । वार्ड स्वास्थ्य कार्यालयको लागत अनुमानअनुसार निर्माण भइरहेको छ । नयाँ निर्माण हुने ५० श्ययाको वार्डको भवन प्रि–फ्याव प्रविधिमा निर्माण गर्न सम्झौता भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाइ छ ।
यस्तै ५० श्ययाको छुट्टै कोरोना वार्ड निर्माणका लागि रु एक करोडको अख्तियारी पाएको कञ्चनपुरको महाकाली अस्पतालमा भने सम्झौता मात्र हुन बाँकी रहेको बताइएको छ ।
