May 5, 2026

आरडिटी किटले ‘नेगेटिभ’ देखाएपछि क्‍वारेन्टाइनमा रहेकालाई घर पठाइयाे

0

भद्रपुर,

भद्रपुरस्थित कलबलगुरी प्रशिक्षण केन्द्रको क्‍वारेन्टाइनमा रहेका २५ जनामध्ये १७ जनालाई मंगलबार बिहान घर पठाइएको छ। त्यसमध्ये ८ जनालाई आजै साँझसम्ममा पठाउने तयारी भइरहेकाे छ।

भद्रपुर नगरपालिका कार्यालयको समन्वय तथा नेपाली सेनाले व्यवस्थापन गरेकाे क्‍वारेन्टाइनमा राखिएका उनीहरु १४ दिनअघि भारतबाट आएका थिए। उनीहरूको र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) किट परीक्षण गर्दा सबैको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई घर पठाइएको भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार जिल्ला प्रशासन कार्यालय झापाको समन्वयमा बसको व्यवस्था गरी उनीहरूलाई घरमै अरू सात दिन क्‍वारेन्टाइनमा बस्ने सर्तमा पठाइएको हो।सिराहा, उदयपुर र सप्तरीका १७ जनालाई भद्रपुर नगरपालिकाले बस व्यवस्था गरी पठाएको र सुर्खेत, दैलेखका नागरिकलाई सुर्खेतको चौकुने गाउँपालिकाले पठाएको गाडीमा पठाउने व्यवस्था मिलाइएको मेयर श्रेष्ठले जानकारी दिए।

क्लबलगुरी क्‍वारेन्टाइनमा सिराहाका ११ जना, उदयपुरका ६ जना, उदयपुरका ६ जना, दैलेखका २ जना, सप्तरीका एक जना र स्थानीय एक जना रहेका क्‍वारेन्टाइन इन्चार्ज क्याप्टेन विजय निरौलाले जानकारी दिए। लकडाउनकै बेला भारतका विभिन्न ठाउँबाट हिँडेर आई पूर्वी नाका काँकडभिट्टा, भद्रपुर र दक्षिणी नाकाबाट नेपाल छिरेका उनीहरूलाई क्‍वारेन्टाइनमा राखिएको थियो।

उता काँकडभिट्टामा अलपत्र परेका ६४ जनालाई सोमबार घर पठाइएको छ। भारतबाट आएका उनीहरू होटेलमा बसेका थिए। लकडाउन लगाएपछि उनीहरू त्यहाँ अलपत्रमा परेपछि इलाका प्रहरी कार्यालय काँकडभिट्टाको सहकार्यमा दुई वटा बसमा घर पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *