हल्दिबारीमा १६६० विपन्न परिवारलाई राहत
भद्रपुर ।

हल्दिबारी गाउँपालिकाले १६६० विपन्न घरपरिवारलाई राहत वितरण गर्ने भएको छ । नोबेल कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले लगाएको लामो लकडाउनको कारणले गाउँपालिकाका भित्रका अति विपन्न, अशक्त, असहाय र दैनिक ज्याला मजदुरी गर्ने घरपरिवारमा खाद्यान्नको सङ्कट उत्पन्न भएको छ ।
सोही उत्पन्न सङ्कटको समाधानका लागि गाउँपालिकामा आइतबार बसेको गाउँ कार्यपालिका बैठकले वडा वडाबाट प्राप्त भएका घरपरिवारको नामावली अनुसार १६६० घरपरिवारलाई राहत वितरण गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले जानकारी दिए ।
राहत वितरणका लागि वडा १ बाट २५६ घरधुरी, वडा २ बाट ९२९ घरधुरी, वडा ३ बाट १५९ घरधुरी, वडा ४ बाट १५७ घरधुरी र वडा ५ बाट १५३ घरधुरीलाई राहत स्वरूप खाद्यान्न सामग्री दिन लागेको गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले जानकारी दिए ।
गाउँपालिकाको गत चैत १९ गते बसेको बैठकले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष गठन तथा सञ्चालन मापदण्ड, २०७६ स्वीकृत गरी वडा वडामा राहत पाउने लाभान्वित घरधुरीको तथ्याङ्क सङ्कलन गरिएको थियो ।
