लागुऔषधको खोजीमा डोटीहुँदै काठमाडौँदेखिका युवा झापाका सीमा नाका धाउँदै
पार्थ मण्डल /भद्रपुर ।

लकडाउनसँगै सीमा नाकामा लागुऔषध प्रयोगकर्ता तथा कारोबारी दिनैपिच्छे धाउन थालेका छन् । कारोबारीले लामो लकडाउनको कारण भारतबाट लागुऔषध नेपाली बजारमा भित्राउन नपाएको र भित्राएको पनि सकिएकोले डोटीहुँदै काठमाडौँदेखि युवाहरू लागुऔषधको खोजीमा भारत प्रवेश गर्नलाई झापा जिल्ला खुलाका सीमा नाका धाउन थालेका हुन् ।
जिल्लाका सीमा नाका भद्रपुर र काँकडभिट्टामा जिल्लासहित अन्य जिल्लाबाट लागुऔषध प्रयोगकर्ता र कारोबारी आउन थालेपछि प्रहरीलाई चुनौती समेत थपिएको छ । सीमा नाकामा लकडाउन उल्लघंन गरेका अपरिचित व्यक्ति देखा परेसँगै झापा प्रहरीले उनीहरूलाई नियन्त्रण लिन थालिसकेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
वडा प्रहरी कार्यालय भद्रपुरले पाँच जनासहित पाँच वटा सवारीसाधन नियन्त्रणमा लिएको छ, भने इलाका प्रहरी कार्यालय काँकडभिट्टा दुई जनासहित एउटा सवारीसाधन नियन्त्रणमा लिएको जनाइएको छ ।
उनीहरू लागुऔषध प्रयोगकर्ता वा कारोबारी हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार वडा प्रहरीले आइतबार बिर्तामोड ३ बस्ने २५ वर्षीय मोहनकुमार ओली र सोही ठाउँका २६ वर्षीय सरोज भट्टराईलाई नियन्त्रणमा लिएको हो ।
मे ७ प ९४४३ नम्बरको मोटरसाइकल चढेर दुवै जना भद्रपुर सीमा नाका आएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको वडाका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिए । दुवै जनालाई अभिभावक बोलाएर जिम्मा लगाएको र मोटरसाइकल वडा प्रहरीमै राखिएको छ । त्यस्तै सोमबार बिहान जिल्लाबाहिरबाट भद्रपुर आएका चार जनामध्ये तीनलाई प्रहरीले नियन्त्रणमा लिएको छ, भने एक जना फरार भएका छन् ।
प्रहरीका अनुसार डोटी जोराइल गाउँपालिका ४ बस्ने ४८ वर्षीय प्रेमकुमार रेग्मी, सर्लाही हरिवन नगरपालिका ९ बस्ने २६ वर्षीय विकल खड्का र काठमाडौँ नगरपालिका ३२ बस्ने २६ वर्षीय विक्रम आले मगरलाई नियन्त्रणमा लिएको छ । उनीहरूसँग आएका धनगढी उपमहानगरपालिका ५ बस्ने २८ वर्षीय सिद्धार्थ बडेला फरार भएको छ । चार जना दुई वटा मोटरसाइकल चढेर भद्रपुर आएका थिए ।
उनीहरू लागुऔषधको खोजीमा यहाँसम्म आइपुगेको अनुसन्धानबाट खुलेको उनले बताए । केही दिनअघि पनि चार जना लागुऔषध प्रयोगकर्ता भद्रपुर आएका थिए । प्रहरीले उनीहरूलाई मेची नदी किनारमा देखेपछि नियन्त्रणमा लिन खेदाएका थिए । प्रहरीले खेदाए पनि उनीहरू भाग्न सफल भएका थिए । वडा प्रहरीले मे ८ प १४४३, मे २ प ५९२९, बा ६६ प ४११९ र को १३ प ८९६९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको जनाइएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली डाक्टरको परिचयपत्र बनाएर लागु औषधको खोजीमा सीमा नाका आइपुगेका ललितपुर बस्ने ३३ वर्षीय दिलकुमार श्रेष्ठ र काठमाडौँ बस्ने २८ वर्षीय गणेश अधिकारीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार डाक्टरको नक्कली भेष धारण गर्दै बा ६ च ७०१९ नम्बरको कार चढेर उनीहरू काठमाडौँबाट धरान हुँदै झापाको काँकडभिट्टा लागु औषधको खोजी आइपुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए । नियन्त्रणमा लिएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ । यता नियन्त्रणमा लिएका सबैलाई अस्थायी क्वारेन्टाइनमा पठाइसकेको प्रहरीले जनाएको छ ।
