May 3, 2026

पत्रकारहरुमाथि भएको दुर्व्यवहारप्रति पत्रकार महासंघको आपत्ति

0

काठमाण्डौ,

नेपाल पत्रकार महासंघले विभिन्न ठाउँमा पत्रकारमाथि भएको आक्रमण र धरपकडको विरोध गरेको छ ।

महासंघले देश लकडाउनमा रहेका बेला, कोरोनाको सम्भावित जोखिमका समेत ख्याल नगरी नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटेका पत्रकारमाथि विभिन्न पक्षबाट भइरहेको आक्रमण, दुर्व्यवहार, हातपात, समाचार संकलनमा रोकलगायतका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

चैत २४ गते सोमबार महासंघका प्रदेश सभासद तथा नागरिक दैनिकका कर्णाली प्रदेश संयोजक नगेन्द्र उपाध्यायलाइ समाचारको विषयमा प्रतिक्रिया लिन खोज्दा कर्णाली प्रदेशसभा सदस्य दानसिंह परियारले गालीगलौज गर्दै धम्क्याएको तथा सुर्खेतको जागरण एफएमका समाचार प्रस्तोता नन्द कठायतलाई रेडियोको कार्यालय जाँदै गर्दा प्रहरीले हातपात गरेको महासंघले जनाएको छ ।

चैत २४ गते जिल्ला प्रशासन कार्यालय धनकुटाको जिल्ला दैवीप्रकोप उद्धार कोषमा स्व. सूर्यबहादुर थापा फाउण्डेसनको संयोजनमा विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रमको समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालय धनकुटा पुगेका महासंघ धनकुटा शाखाका निवर्तमान अध्यक्ष एवं हिमालय टाइम्स दैनिकका सम्वाददाता खगेन्द्रप्रसाद घिमिरे र हिमालयन टेलिभिजनका सम्वाददाता कविराज घिमिरेलाई स्थानीय प्रशासकको आदेशमा जिल्ला प्रशासन परिसरबाट अपमानजनक ढंगबाट बाहिर निकालिएको छ ।

यस्तै महासंघ धनकुटा शाखा उपाध्यक्ष एवं द धनकुटा हेराल्ड दैनिकका सम्पादक नगेन्द्र राई, शाखा सहसचिव एवं अन्नपूर्ण पोष्ट दैनिकका सम्वाददाता हरिबहादुर लम्जेल, रेडियो भेडेटारका स्टेसन प्रमुख पूर्णकुमार चौधरी, थाहा सञ्चार धनकुटा सम्वाददाता इश्वर थापालगायतलाई सुरक्षाकर्मीले माथिको आदेश भन्दै समाचार संकलनमा रोक लगाउँदै जिल्ला प्रशासन परिसर बाहिर नै रोकेका थिए भने खिचिएको तस्वीर मेटाउन लगाएको छ ।

यस्तै, चैत १६ गते अन्नपूर्ण पोष्ट दैनिकका कालीकोट संवाददाता विष्णप्रसाद न्यौपानेलाई समाचारको विषयलाई सामाजिक सञ्जाल र अन्य माध्यमबाट गालीगलौज गर्दै धम्की दिइएको महासंघका महासचिव रमेश विष्टले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

अनेकौ कठिनाई र जोखिम मोलेर आफ्नो दायित्व बहन गरिरहेका पत्रकारमाथि आक्रमण, दुव्र्यवहार, धम्की, समाचार संकलनमा रोकलगायत आपत्तिजनक भएको भन्दै महासंघले संवैधानिक अधिकारको सम्मान गरी पत्रकारलाई सही र सहज रुपमा सूचना उपलब्ध गराउन तथा स्वतन्त्र, सुरक्षित एवं निर्वाधरुपमा काम गर्ने वातावण बनाउन सम्बन्धित निकायसँग माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *