May 2, 2026

अतिविपन्न परिवारलाई प्याब्सन बुद्धशान्तिले दियो ५६ हजार

0

 

अनिल वाग्ले,
बुधबारे ,

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि राज्यले देशभर लक डाउन गरेपछि अतिविपन्न नागरिक भोकै बस्नुनपरोस् भन्ने उद्धेश्यले आज निजी विद्यालयहरुको छाता संगठन बुद्धशान्ति प्याब्सनले ५६ हजार रुपैँया सहयोग गरेको छ ।

उक्त सहयोग राहत रकम बुद्धशान्ति गाउँपालिकालाई हस्तान्तरण गरिएको बुद्धशान्ति प्याब्सनका अध्यक्ष विष्णु सापकोटाले बताएका छन् । राज्यलाई आपत परेको बेला सबैको सहयोग रहनुपर्ने महसुस गरेर बुद्धशान्ति गाउँपालिका भित्रका अतिविपन्न नागरिकलाई खाद्यान्य उपलब्ध गराउने गरी गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मीरा भूर्तेल, प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईलाई सो रकम हस्तान्तरण गरिएको प्याब्सन बुद्धशान्तिका सदस्य राज अर्यालले बताएका छन् ।

सो राहत रकम प्याब्सन झापाका प्राज्ञिक सल्लाहकार महेन्द्र संग्रौलाले गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई हस्तान्तरण गरेको प्याब्सन झापाका कोषाध्यक्ष छत्रबहादुर कार्कीले जानकारी दिए । यस जोखिमको घडीमा आवश्यक परेको खण्डमा प्याब्सन बुद्धशान्तिले आर्थिक, प्राविधिक र अन्य कुरामा आगामी दिनमा पनि सहयोग गर्ने प्याब्सन बुद्धशान्तिका अध्यक्ष सापकोटाले प्रतिवद्धता व्यक्त गरेका छन् ।

गाउँपालिका परिसरमा भएको राहत सहयोग रकम हस्तान्तरण कार्यक्रममा प्याब्सन झापाका सल्लाहकार सञ्जीव प्रधान, बुद्धशान्ति प्याब्सनका कोषाध्यक्ष उदयचन्द्र कोइराला लगायतको उपस्थिति थियो । प्याब्सन बुद्धशान्तिले लक डाउनका बेला सचेत बन्न, पटक पटक सावुन पानीले हात धुन, भीडभाडमा नजान, राज्यको निर्देशन पालना गर्न सम्पूर्ण अभिभावक, विद्यार्थी सहित सर्वसाधारणमा अनुरोध पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *