घर फर्किन लागेका ७२ जना भारतीय मजदुर झापामै
भद्रपुर।

लकडाउनमा घर फर्किन लागेका ७२ जना भारतीय नागरिकलाई झापामा राखिएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको लकडाउनमै भारत घर फर्किन खोजेका ७२ जनालाई स्थानीयको सहयोगमा नियन्त्रणमा लिएर सुरक्षित स्थानमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
७२ जनामध्ये ३९ जना मेचीनगरमा, १८ जना भद्रपुरमा र १५ जना कनकाईमा रहेका छन् । उनीहरू जिल्लाका विभिन्न विकास निर्माण तथा पलाई उद्योगमा काम गर्न नेपाल आएका थिए ।
विकास निर्माणसँगै उद्योग ठप्प बनेपछि उनीहरू लुकिछिपी हिँडेर भारत प्रवेश गर्न खोजका थिए । उनीहरूलाई स्थानीयको सहयोगमा नियन्त्रणमा लिएर सुरक्षित स्थानमा राखिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार मेचीनगरमा रहेका ३९ जनालाई मेची जनसाधारण माविमा राखिएको छ । उनीहरू बाहुण्डागीको भृकुटी भन्ने स्थानबाट भारत प्रवेश गर्न खोजेपछि स्थानीयले प्रहरीलाई खबर गरेर नियन्त्रणमा लिएका थिए ।
त्यस्तै भद्रपुरस्थित किचकबधमा १८ जना भारतीय नागरिकलाई राखिएको छ । उनीहरू बिर्तामोडको प्याई उद्योगमा काम गर्ने मजदुर हुन् । उनीहरू पृथ्वीनगरको बाटो भएर भारत प्रवेश गर्न खोजेका थिए । उनीहरू सबैको घर पश्चिम बङ्गालको रायगञ्ज हो । उता कनकाई नगरपालिकामा कैलालीबाट आएका १५ जनालाई दुर्गापुरमा राखिएको छ ।
उनीहरूलाई दुर्गापुरकै एउटा सामुदायिक भवनमा व्यवस्थापन गरिने जनाइएको छ । जिल्लामा फेला परेका भारतीय मजदुरलाई जहाँ रहेको छ, त्यहीकै स्थानीय तहले व्यवस्थापन गर्न आग्रह गरिसकेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । यता भारतीय मजदुरलाई खाना तथा आवासको व्यवस्थापनमा तीन वटै स्थानीय तह जुटेको बताइएको छ ।
