लकडाउनको प्रभावकारी कार्यान्वयन गराउन अपिल
झापा,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरले लकडाउनको प्रभावकारी कार्यान्वयन गर्न गराउन जिल्लावासी तथा सरकारी निकायलाई अपिल गरेको छ ।
कोरोना भाइरस सङ्क्रमणबाट बच्न सरकारी आह्वानको पालना र विदेशबाट फर्किएकाले क्वारेन्टाइनमा बसेर सहयोग गर्नु मात्रै विकल्प रहेको औँल्याउँदै नेकपा पाँचथरले लकडाउनको प्रभावकारी कार्यान्वनयमा लाग्न आह्वान गरेको हो ।
नेकपा जिल्ला कमिटीले आज जारी गरेको अपिलमा कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण तथा लकडाउनको पालनामा एकताबद्ध भएर जुट्न जिल्लाका सरकारी निकाय, स्थानीय तह, जिल्लावासी र नेकपाका नेता कार्यकर्तालाई आग्रह गरिएको छ । नेकपाले लकडाउन तथा क्वारेन्टाइनमा बस्ने प्रबन्ध प्रभावकारी भए नभएको निरन्तर अनुगमन गर्न, पाँचथरसँग जोडिएको भारतको पश्चिम बङ्गाल र सिक्किमको सीमाबाट हुने आवत–जावत रोक्न, कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएका तथा अन्य बिरामीको प्रभावकारी एवं शीघ्र उपचार गर्न माग गरेको छ ।
नेकपा जिल्ला कमिटी पाँचथरका अध्यक्ष राजकुमार भण्डारीद्वारा जारी अपिलमा स्वास्थ्यकर्मीका लागि आवश्यक पीपीईसहितका सुरक्षा सामग्री तथा उपकरणको यथेष्ट प्रबन्ध गर्न, दैनिक ज्यालादारी गर्ने तथा कमजोर आर्थिक अवस्थामा सर्वसाधारणलाई राहत दिन तीनैतहका सरकारलाई आग्रह गरिएको छ । नेकपा पाँचथरले छिमेकी मुलुक भारतसहित विदेशबाट फर्किएका सबै जिल्लावासीलाई स्वस्फूर्त क्वारेन्टाइनमा बसेर मुलुकलाई गम्भीर सङ्कटबाट बचाउन आग्रह गरेको छ ।
नेकपाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जिल्लावासीलाई अपिल गर्दै त्यस्ता काममा निस्कन सर्वसाधारणलाई सहयोग गर्न सुरक्षा निकायलाई आग्रहसमेत गरेको छ । यस्तै दैनिक उपभोग्य सामग्रीको यथेष्ट र सहज उपलब्धता, सरल मूल्य र कालोबजारी नियन्त्रण गर्न सरकारी निकाय तथा निजी क्षेत्रलाई आग्रह गरेको छ । नेकपाले आफू सुरक्षित रहँदै कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण, प्रतिकार्य तथा सचेतना र सतर्कताका काममा सहभागी हुन पार्टीका नेता कार्यकर्तालाई आह्वान गरेको छ । –––
