June 28, 2026

२४ घण्टा बितिसक्दा पनि झापामा आइसोलेसनका बिरामीको ‘स्वाब’ परीक्षण भएन

0

भद्रपुर,

राजधानी बाहेक अन्यत्र कोभिड–१९ कोरोना भाइरस सङ्क्रमणको परीक्षण ल्याब सञ्चालनमा नआउँदा जिल्लाका ‘आइसोलेसन वार्ड’मा भर्ना भएका बिरामीको उपचारमा समस्या निम्तिएको छ। समयमै बिरामीको ‘थ्रोट स्वाब’ परीक्षण हुन नसक्दा यसले जोखिम र अनिश्चतता बढाएको हो।

मेची अस्पताल भद्रपुरको ‘आइसोलेसन वार्ड’मा उपचार गराइरहेका दुई बिरामीको २४ घण्टा बितिसक्दा पनि ‘थ्रोट स्वाब’ परीक्षण हुन सकेको छैन। ‘थ्रोट स्वास’ परीक्षण गर्न काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै पठाउनुपर्ने हुन्छ। तर विमानलगायत अन्य कुनै पनि प्रकारका सवारीसाधन नचलेकाले ‘थ्रोट स्वाब’ परीक्षणका लागि पठाउन नसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले जानकारी दिए।

‘अहिलेसम्म बिरामीको थ्रोट स्वाब परीक्षण गर्न पठाउन सकेका छैनौं, काठमाडौँ पठाउनलाई साधन नै छैन, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) मा अहिलेसम्म परीक्षण ल्याब सुरू भएको छैन,’ ठाकुरले भने, ‘अस्पताल समस्यामा परेको छ, बिरामीको परीक्षण गर्न ढिला भइसक्यो, अहिलेसम्म पठाउन सकेका छैनौं, पठाए पनि दुई/चार दिन त्यसै लाग्छ।’ बिरामीको थ्रोट स्वाब परीक्षण गराउनेतर्फ कसैले ध्यान नदिएकोमा उनले गुनासो पोखे।

सरकारले आजदेखि धरानमा परीक्षण ल्याब सुरू गर्न थालेको जानकारी पाएपछि त्यहाँ सम्पर्क गरिएको, तर अहिलेसम्म ल्याबको उद्घाटन नभएकाले उद्घाटन भएपछि सम्पर्क गर्ने जवाफ आएको ठाकुरले बताए। उद्घाटनपछि कहिले परीक्षण शुरू हुन्छ र कहिले खबर गर्छन् भन्ने प्रतीक्षा गर्नु बाहेक अरू कुनै उपाय नभएको जिल्ला अस्पतालका चिकित्सकहरूले बताएका छन्‍।

भद्रपुर नगरपालिका ३ (साबिक महेशपुर) बस्ने एक परिवारका सबै सदस्यमा ज्वरो र रुघाखोकी देखा परेपछि बुबा र छोरालाई शनिबार विहान ‘आइसोलेसन’मा भर्ना गरिएको छ। परिवारका अन्य सदस्यहरूलाई कलवलगुरी प्रशिक्षण केन्द्रको अस्थायी ‘क्वारेन्टाइन’मा पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *