June 28, 2026

कोभिड–१९ : रगतको अभाव हुन नदिने

0

सुर्खेत, 

कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई उच्च ध्यान दिँदै रगतको अभाव हुन नदिन यसको सङ्कलन थालिएको छ । पतञ्जली योग समितिले शनिबार प्रदेश अस्पतालमा सञ्चालित रक्त सञ्चार सेवा केन्द्र (ब्लडबैंक)लाई आठ पिन्ट रगत उपलब्ध गराएको छ ।

सो समिति कर्णाली प्रदेशका महामन्त्री जनकबहादुर शाहीले रक्तदान शिविरबाट सङ्कलित रगत सो केन्द्रलाई उपलब्ध गराएको जानकारी दिनुभयो । “कोरोनाको जोखिमले उत्पन्न रगत अभावलाई अन्त्य गर्न रक्तदान कार्यक्रमको आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो, “रक्तदानका लागि नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरी आवश्यक परे थप रगत सङ्कलन गर्न तयार छौँ ।”

केन्द्रका प्रमुख दीपेन्द्र केसीले पछिल्लो समय कोरोना भाइरसको जोखिमले रक्तदान गर्नेको सङ्ख्यामा कमी आएको जानकारी दिनुभयो । केन्द्रमा हाल विभिन्न समूहको गरी करिब २० पिन्ट रगत उपलब्ध रहेको जनाइएको छ ।

पछिल्लो समय रगतको माग बढी र रक्तदान गर्ने कमी भइरहँदा रगत अभाव हुनसक्ने जनाइएको छ । कोरोनाको जोखिमले अस्पतालमा आएर स्वेच्छिक रक्तदान गर्नेहरुको सङ्ख्या कमी आएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *