July 5, 2026

आधाभन्दा धेरै नेपालीलाई साबुन पानीले हात धुने सुविधा छैन – युनिसेफ

0

काठमाण्डाै,

राष्ट्रसंघीय बालकोष युनिसेफले आधाभन्दा धेरै नेपालीलाई साबुन पानीले हात धुने सुविधा नभएको जनाएको छ । युनिसेफका अनुसार संसारभरका हरेक ५ जनामध्ये ३ जनासँग मात्र हात धुने सुविधा छ । ‘नेपालमा कुल जनसंख्याको आधाभन्दा धेरैको पहुँचमा साबुनपानीले हात धुने सुविधा छैन’ युनिसेफले भनेको छ ।

कोरोना भाइरस (कोभिड -१९) को रोकथामका लागि साबुन पानीले हात धुनु महत्वपूर्ण भन्दै युनिसेफले आफू र आफ्ना बालबालिकालाई जोगाउन नियमित रुपमा हात धुने बानी बसाल्न सुझाव दिएको छ ।

अरु व्यक्तिले जस्तै बालबालिकालाई पनि बगिरहेको पानीमा हात भिजाउने, भिजेको हातमा साबुन लगाउने, हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तिमा २० सेकेण्डसम्म राम्रोसँग मिच्ने र पखाल्ने गर्न युनिसेफको सुझाव छ ।

युनिसेफका अनुसार विशेषगरी खाना खानु भन्दा अगाडि, सिंगान पुछेपछि, खोक्नु र हाच्छ्युँ गरिसकेपछि र शौचालय गैसकेपछि राम्ररी हात धुन सके बालबालिकालाई भाइरसबाट जोगाउन सकिन्छ । आफ्ना बालबालिकामा ‘फ्लू’जस्ता श्वासप्रश्वास सम्बन्धी अन्य सङ्क्रमणको लक्षण देखिएमा स्वास्थ्य संस्थामा लैजान पनि उसले सुझाव दिएको छ ।

हात धुने उत्तम तरिका

१. बगिरहेको पानीमा हात भिजाउने,

२. भिजेको हातमा मनग्गे साबुन लगाउने,

३. हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तिमा २०सेकेण्डसम्म राम्रोसँग मिच्ने,

४. बगिरहेको पानीले राम्ररी हात पखाल्ने,

५. सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने।-उज्यालो अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *