सामुहिक अग्रसरता चाहियो
सम्पादकीय
दक्षिण एशियाली सहयोग संगठन (सार्क)को जीवनमा प्राण सञ्चार भएको छ । कोभिड–१९ नामको महामारीले निम्त्याएको संकटको कारण सुस्त प्रायः सार्कको जीवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा प्राण सञ्चार भएको अनुभूति गरिँदैछ । सन् २०१४पछि सार्क मुलुकका सरकार प्रमुखहरु औपचारिक रुपमा कतै कुनै प्लेटफर्ममा उपस्थित थिएनन् । यसअघि सन् २०१६मा पाकिस्तानमा १९औं सार्क शिखर सम्मेलन गर्ने घोषणा गरिएको थियो । त्यही समय भारतीय क्षेत्र जम्मुकास्मिरमा उत्पन्न विवादका कारण यही दुई देशबीचको विवाद उत्कर्षमा पुग्यो । त्यही कटुताका कारण पूर्वनिर्धारित सार्कको १९औं शिखर सम्मेलन हुन सकेन र सार्क स्वयम् निस्कृय बन्यो ।
कोरोना संक्रमणले चिसिएको सम्बन्ध सुमधुर बन्न पुग्यो भने यसलाई स्वागत नै गर्नुपर्ने हुन्छ । क्षेत्रीय सहयोग आदान–प्रदान गर्दै, सहअस्तित्व र बन्धुत्वको आधारमा सँगैअघि बढ्ने सार्कको लक्ष्य हो । यही लक्ष्यका निम्ति यसअघिका शिखर सम्मेलनहरुले नियमित भेटघाट, छलफल, प्रविधिको हस्तान्तरण र पहुँच लगायतका विषयमा साझा धारणा निर्माण गर्दै थिए । कोरोना संकटदेखिन शुरु भएपछि भारतीय प्रधानमन्त्री मोदी आफैंले भिडियो कन्फरेन्सको प्रस्ताव गरे । कन्फरेन्समा सबै सदस्यहरुको सहभागितामा आपतकालीन कोष घोषणा गरिएको छ । महामारीका रुपमा फैलिएको कोरोना आतंकविरुद्ध लड्न भारतीय प्रधानमन्त्री मोदीको यो प्रस्तावलाई सबैले समर्थन गरी साझा प्रतिबद्धता जनाए । यसले सार्कको जीवनलाई प्राण सञ्चार गराएको छ ।
स्थापनाको ३५ बर्षपछि चिसिएको र सुस्ताएको सम्बन्धलाई तातो बनाउने आधार बनिएको कोरोना भाइरसको संक्रमणले यस क्षेत्रमा रहेको अपार स्रोत र साधनलाई यथोचित उपयोग गरी जनताको समृद्धिमा जोड्न बल पु¥याउनुपर्दछ । नेपाल, भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान, भुटान, माल्दिम्भ र पछि जोडिएको अफगानिस्तानको संगठनले दक्षिण एशियाको समृद्धि र यस क्षेत्रका जनताको जीवनस्तर उकास्ने लक्ष्यलाई हासिल गर्न सामुहिक अग्रसरता र अभियान चलाउनुपर्दछ । रोग त्यसमा पनि सरुवा, जसको न्यूनीकरण र नियन्त्रण सामुहिक प्रयासले गरिनु सबैको हितमा हुन्छ । मानिसको ठूलो शत्रु भनेकै भोक, रोग र शोक हो । त्यसैले पनि रोगका विरुद्ध लड्न आपसी स्वार्थ त्याग्नुपर्छ ।
भारत र पाकिस्तानका बीचको विवाद र आन्तरिक स्वार्थले अलमलिएको सार्कको अभियानलाई भिडियो कन्फरेन्सले जोड्नुपर्दछ । कोष खडा गरेर चिकित्सक र विशेषज्ञ सम्मिलित टिम स्थापना गरेर कोरोनाबिरुद्ध सामुहिक अभियान चलाउनुपर्दछ । यही अभियानले आपसी विवाद समाधान गर्न, मनोमालिन्य हटाउन र सार्कको लक्ष्य अनुरुप दक्षिण एशियाको समृद्धिमा योग पु¥याओस् । विश्वका डेढ सयभन्दा बढी मुलुक कोरोनाको चपेटामा परिसकेका छन् । समृद्ध देशहरु त्यसको प्रतिरक्षाका लागि स्वयम् लड्न सक्षम हुन्छन् तर नेपाल र नेपाल जस्तै विकासशील देशहरु एक्लै यो विपद्को सामना गर्न सक्दैनन् । त्यसकारण पनि कलियुगको शक्ति भनिएको संगठनका माध्यमबाट सामुहिक अभियान आजको आवश्यकता हो ।
