काँकरभिट्टा नाका खुल्ला, पशुपतिनगर नाकामा प्रवेश रोक
इलाम।

नोबल कोरोना भाइरस (कोभिड १९) को विश्वका विभिन्न देशमा संक्रमण बढी रहेका बेला भारतले पूर्वी नाका पशुपतिनगर बन्द गरेपनि काँकरभिट्टा नाका खुल्ला नै रहेको छ । कोरोना भाइरसको कारण देखाउँदै भारतले पशुपति नाकाबाट सवारी साधन प्रवेशमा रोक लगाएको हो । भारतमा कोरोनाका कारण दुई जनाको मृत्यु भइसकेको छ ।
पश्चिमबंगाल सरकारले कोरोना नियन्त्रणका लागि भन्दै शनिबार बिहानबाट नाका बन्द गरेको हो । नेपालतर्फबाट भारत जाने र भारतबाट भित्रिनै सवारी साधन नाका बन्द भएपछि ठप्प रहेको पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।
नाका अनिश्चितकालका लागि बन्द गरेको जानकारी आफूहरुलाई प्राप्त भएको प्रहरी निरीक्षक रमेश राईले बताए । नाका बन्दभएपछि सवारी साधन ठप्प रहेको छ भने स्थानीयलाई आउ–जाउ गर्न दिइएको बताइएको छ ।
कोरोना नियन्त्रणकै लागि सूर्याेदय नगरपालिका, १ नम्बर प्रदेश र संघीय सरकारले पशुपतिनगरका २ स्थानमा हेल्प डेस्क राखेर मानिसको तापक्रम जाँच गरिरहेका छन् । २ वटा ‘थर्मल गन’ प्रयोग गरी दिनहुँ करिब ६ सय जनाको तापक्रम जाँच भइरहेको थियो ।
हेल्प डेस्कका लागि ६ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । सूर्याेदय नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख धनराज यादवले हेल्प डेस्कमा कसैमाथि कोरोनाको आशंका भए तत्काल तोकिएको स्थानमा पु¥याउन एम्बुलेन्ससमेत तयार रहेको जानकारी दिए । हालसम्म कसैलाई पनि कोरोनाको लक्षण नभेटिएको जनाइएको छ ।
नेपालले भारतसंगका सिमा नाकाहरुमा उच्च सर्तकता अप्नाउदैं हेल्प डेस्क मार्फत कोरोनाको परिक्षण गरिरहेको छ । यता झापाको कांकरभिट्टा स्थित हेल्प डेस्कमा पनि उच्च निगरानीका साथ कोरोनाको परिक्षण भइरहेको जनाइएको छ ।
बिहीबार मात्रै कांकरभिट्टाबाट दुई युक्रेनी नागरिकलाईफिर्ता पठाइएको थियो । उनीहरुमा उच्च तापक्रम देखिएपछि नेपाल प्रवेशमा रोक लगाइएको थियो । यसैबीच पूर्वी नाका काकरभिट्टामा कोरोनो सङ्क्रमणको ज्वरो नाप्ने ‘थर्मल गन’ पर्याप्त नहुँदा भीड व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । पूर्वीनाका काँकडभिट्टाबाट भाइरस भित्रिन नदिन भारतबाट आउने सबै नागरिकलाई पंक्तिबद्धरूपमा ज्वरो नाप्ने व्यवस्था मिलाइएको छ ।
सीमाबाट आउने नेपाली तथा भारतीयको ज्वरो नाप्न एउटा मात्र ‘थर्मल गन’को मात्र भर पर्नुपरेकाले समस्या भएको हो । दैनिक हजारौँले ओहोरदोहोर गर्ने नाकामा कम्तीमा १० ‘थर्मल गन’ प्रयोग गरिए मात्र नाकामा जाँच व्यवस्थित हुने काँकडभिट्टा क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेती बताउँछन् । उनले भूटान, बङ्गलादेश, म्यान्मारजस्ता तेस्रो मुलुकसँग समेत नजिकको दूरी भएको नाका भएको हुँदा काँकडभिट्टामा जाँच प्रक्रियालाई सुव्यवस्थित, भरपर्दो र विश्वसनीय तुल्याउनुपर्ने बताएका छन् ।
मेचीनगर नगरपालिकाले सो भाइरसको सङ्क्रमण रोकथामका लागि काँकडभिट्टा नाकामै सचेतनामूलक कार्यक्रम राखेको थियो । कार्यक्रमका सहभागी अधिकांशले नाका जोखिमका दृष्टिले अति संवेदनशील क्षेत्र भएको हुँदा नाका बन्दको कदम चालेर जोखिम न्यूनीकरणको प्रयास गरिनुपर्ने धारणा राखेका थिए ।
