July 8, 2026

पाँचथरमा वीरइन्द्र रंगशालाको निर्माण कार्य धमाधम

0

युद्धबहादुर बोहोरा / पाँचथर।

फाक्तेप युथ क्लब (पिवाइसी) को पहलमा फाल्गुनन्द-५,सिङ्गहाङ्गमा रहेको पिवाइसी वीरइन्द्र रंगशालाको निर्माण कार्य अहिले धमाधम भइरहेको छ।

पूर्वी पहाडको नमूना रंगशाला निर्माण गर्ने उदेश्यले २५ रोपनी क्षेत्रफलमा सुविधासम्पन्न रंगशाला निर्माणको आयोजना संचालन गरिएको बताएइएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङको सांसद विकास कोष मार्फत १५ लाख र वडा कार्यालयबाट दुई लाख गरि जम्मा १७ लाख रुपैयाँको लगानीबाट निर्माणको काम थालिएको क्लब तथा निर्माण उपभोक्त समिति अध्यक्ष पञ्चकुमार चेम्जोङले जानकारी दिए।

११५÷७० मिटर फराकिलो प्रारम्भिक निर्माणको लागि मुकुम्लुङ्ग कन्स्ट्रक्सन प्राली एलएमबि निर्माण सेवाले जिम्मा लिएको काम अन्तिम चरणमा पुगेको समितिले बताएको छ।

आगामी १५ वर्ष सम्ममा ग्रामीण क्षेत्रको अत्याधुनिक सुविधा सहितको रंगशाला तयार गर्न जम्मा ४५ रोपनी जग्गाको र करिब २० करोड लगानी लाग्ने डिपिआर तथा प्राविधिक पक्षको अनुमान गरेको समिति सचिव भिमप्रसाद चेम्जोङले बताए।

गत मङ्सिर ७ गते १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ द्वारा शिलान्यास भएको यस रंगशालालाई आवश्यक बजेट प्रदेश तथा संघीय सरकारबाट उपलब्ध गराउन पहल गर्ने मन्त्री आङ्बोले प्रतिबद्धता जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *