July 11, 2026

पाँच वर्षदेखि स्वास्थ्य कार्यालयको भवन अलपत्र

0

सोलुखुम्बु,

सम्झौता भएको पाँच वर्ष बिते पनि जिल्ला स्वास्थ्य कार्यालयको निर्माणाधीन भवन अलपत्र परेको छ । ठेकेदार कम्पनीको लापरवाही र निमनकारी निकायको मौनताका कारण उक्त भवन अलपत्र बनेको सर्वसाधारणको आरोप छ ।

विसं २०७१ माघ २० गते दुई वर्षमा निर्माण सक्ने गरी सम्भौता भएको भवन निर्माणको काम अझै २० प्रतिशत बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कर्मचन्द्र राजवंशीको भनाइ छ । उहाँका अनुसार लामो समयदेखि अलपत्र अवस्थामा छाडिँदा निर्माणाधीन भवनमा प्रयोग गरिएका काठ कुहिएर काम नलाग्ने अवस्थामा पुगिसकेका छन् ।

निर्माणको ठेक्का लिएको निलगिरी निर्माण कम्पनीका प्रमुख युवराज डाँगीले २०७५ सालको असार मसान्तसम्म भवन निर्माणको काम सक्ने बताउँदै आएको भए पनि त्यो बचन पूरा भएको छैन । उक्त कम्पनीले रु दुई करोड ३८ लाख तीन हजार ५३.३२ को लागतमा निर्माणको जिम्मा लिएको थियो । निर्माण सम्पन्न गर्नुको सट्टा भवन अलपत्र अवस्थामामा छाडेर निर्माण व्यवसायी नै बेपत्ता बन्दा कार्यालय सञ्चालनमा समेत समस्या झेल्नुपरेको निमित्त प्रमुख राजवंशीको भनाइ छ ।

निर्माण कम्पनीले समयमा भवन निर्माण गर्न नसकेको खण्डमा कार्यालयले तिर्नुपर्ने भाडासमेत ठेकेदार कम्पनीले बेहोर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । “सम्झौता कार्यान्वयन गर्नु त अलग छ, ठेकेदार युवराज डाँगीलाई हामीले फोन गर्दासमेत उठाउँनुहुन्न”, निमित्त प्रमुख राजबंशीले भन्नुभयो, “अहिले हामीले वार्षिक रु चार लाख भाडा तिरिरहेका छाँै, यो राज्यलाई ठूलै घाटा हो ।”

निजी घरमा रहेको हालको कार्यालयमै घरधनीसमेत बस्दा अनेकौँ समस्या आउने गरेको उहाँको भनाइ छ । “घरबेटी हामीसँगै बस्नुहुन्छ, बिदाको दिन पनि गेट खुला हुन्छ”, उहाँले भन्नुभयो, “सुरक्षाको दृष्टिकोणले जोखीम छ ।” यस विषयमा प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा पत्र पठाएको भए पनि त्यसको कुनै पनि जवाफ नआएको उहाँको भनाइ छ ।

नीलगिरि कम्पनीबाट पेटी ठेकेदार स्थानीय बुद्धि मगरले रु एक करोड ७० लाखमा निर्माणको जिम्मा लिनुभएको छ । पेटी ठेकेदार मगरले समेत काम गरेअनुसार कम्पनीमार्फत भुक्तानी नपाएको गुनासो गर्नुभयो । नीलगिरि कम्पनीका प्रमुख डाँगीसँग फोन सम्पर्क गर्दा फोन उठेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *