July 11, 2026

कचनकवलमा जंगली हात्तीद्धारा दाना लागेको मकै नष्ट,कृषक चिन्तित

0

भद्रपुर,

भारतसँग जोडिएको दक्षिणी झापाको कचनकवल गाउँपालिकामा जंगली हात्तीको आतंक रोक्न सरकारले सौर्य विद्युतीय तारबार जडान गरेको छ।

विद्युतीय तारबारले गाउँमा हात्ती आतंक रोकिने र कृषकले ढुक्क भएर खेतीपातीसहित आफ्नो जीविका उपार्जन गर्न पाउने विश्वास लिएको थियो। तर, कृषकको यस विश्वासलाई जंगली हात्तीले विनासमा परिणत गरिदिएको छ। सौर्य तारबारले पनि हात्ती नियन्त्रण नहुँदा साबिक घेरावारि गाविस २ हाल कचनकवल १ कुटी नजिकैको गाउँका कृषक अहिले पीडामा छन्।

त्यहाँका कृषकले करिब १० विगहामा लगाएको दाना पलाएको पाक्नै लागेको मकै खेती जङ्गली हात्तीले नष्ट गरिदिएको छ। लगातार तीन रात जंगलबाट आहारको खोजीमा निस्किएको हात्तीले स्थानीय धनिलाल यादव, नारायणसिंह राजवंशी, अचालु यादव, देवलाल यादव र वासुदेव राजवंशीको मकै खेती नष्ट गरिदिएको छ। हात्तीले करिब ५ लाख बढीको खेती नष्ट गरिदिएको स्थानीय कृषकले पीडा पोखे।

‘बिहीबार राति दुई वटा हात्ती गाउँमा आए। त्यसले केही मकै खेतीमा क्षति पुरायो। शुक्रबार राति आठ वटा हात्ती आएर मकै खेतीमा उपद्रो मच्चाएर गए। यो क्रम रोकिएन,’ कृषक धनिलाल राजवंशीले भने, ‘शनिबार राति पनि सात वटा हात्ती आएर मकै खेती नष्ट गरिदियो।’ ‘धान बेचेर र साहूबाट ऋण लिएर ६ विघामा मकै खेती लगाएका थियौं,’ उनले भने, ‘हात्तीले सबै नष्ट गरिदियो।

अब परिवार कसरी पाल्नु र साहुको ऋण कसरी तिर्नु।’ हात्तीले दान निस्किसकेको पूरै मकैखेती नष्ट गरिदिएको उनको भनाई छ। ‘रातभर हात्ती धपाउन ठिक्क, दिन परेपछि हात्तीले नष्ट गरिदिएको खेत हेर्दा ठिक्क अब कसरी बाच्नु त?, उनले भने, ‘गाउँघरमा रातको समयमा हात्ती आउँदा आफ्नो परिवार बचाउनु कि खेती?’ अर्को कृषक नारायणसिंह राजवंशीले भने।

‘सौर्य तारबारले हात्ती नियन्त्रण हुन्छ र ढुक्क भएर गाउँका कृषकले खेती गर्न पाउँछ भनेको त? त्यस्तो हुन सकेन। झन् हात्तीले गाउँमा आतंक मच्चाउन थालेको पाइयो,’ उनले भने। ‘यहाँका स्थानीयको प्रमुख पेसा नै कृषक पेसा हो। राज्यले पनि लगानी गर्दैनन्। ऋणदार गरेर खेती लगायो। त्यसको पनि सुरक्षा हुँदैन’ अब हामी कसरी बाच्नु र परिवार कसरी पाल्नु स्थानीय कृषक देवलाल यादवले आफ्नो पीडा सुनाए।

गाउँमा दिनहुँ जसो हात्तीले क्षति पुर्‍याउँदै आए पनि संघीय, प्रदेश तथा स्थानीय सरकारका जनप्रतिनिधि आएर हेरी नदिएको उनीहरूको गुनासो छ। हात्तीले गाउँमा लगाएको मकै खेती नष्ट गरिदिएको देख्दा दुःख लागेको बताए। स्थानीय नवराज भट्टराईले भने, ‘हात्तीले गरेको क्षतिको विवरण संकलन गरेर राज्यले पीडामा रहेका कृषकलाई तत्काल क्षतिपूर्ति दिलाउनु पर्छ।’

कचनकवलको दुर्गाभिट्टा सामुदायिक वनदेखि जलथल हुँदै भद्रपुरको विशाल सामुदायिक वन सम्मको ३७ किलोमिटरसम्म हात्ती नियन्त्रणका लागि तारबार लगाइसकेको छ। ‘जंगलमै हात्ती रोक्न तारबार लगाइएको छ। त्यति हुँदाहुँदै कहाँबाट हात्ती गाउँमा निस्किन्छ। त्यसको व्यवस्थापन तुरुन्त गर्नुपर्छ’ उनले भने, ‘हात्तीका लागि जंगलभित्रै आहारको व्यवस्थापन गर्नुपर्छ। अनि मात्र गाउँवासी सुरक्षित हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *