July 11, 2026

तापखोलामा पुलको काम तीव्र

0

खोटाङ,

जिल्लाको उत्तरी क्षेत्रको केपिलासगढी गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने गरी हुर्लुङ–जालपा–बाक्सिला सडकखण्डअन्तर्गत तापखोलामा पक्की पुलको काम तीव्र पारिएको छ ।

सो गाउँपालिकाकै रु तीन करोड ८३ लाख २६ हजार लगानीमा सो पुल दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको सिमानामा पर्ने सो खोलामा निर्माणाधीन सो पुल २५ मिटर लम्बाइको छ ।

उत्तरी क्षेत्रका स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्र बाक्सिलाबजार जोड्ने पुल निर्माणको जिम्मा सूर्य कन्स्ट्रक्शन प्रालिले विसं २०७५ फागुन १ गतेदेखि लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले जानकारी दिनुभयो ।

पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि गाउँपालिकामा विकास निर्माणको वातावरण बन्ने गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताउनुभयो । “तापखोलामा पुल नहुँदा गाउँपालिकाको सिङ्गो विकास निर्माणमा असर पुगेको छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाका लागि चुनौतीका रूपमा रहेको तापखोलामा निर्माणाधीन पक्की पुललाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएका छौँ ।”

पुल बन्न लागेकामा स्थानीयवासी हर्षित भएका छन् । सात वर्षअघि विसं २०६९ मा हुर्लुङ–जालपा–बाक्सिला (३० किलोमिटर) सडक खुले पनि बीचमा पर्ने सो खोलामा पुल नहुँदा वर्षायाममा सडक अवरुद्ध हुने गरेको छ । उक्त गाउँपालिका जोड्ने सबैभन्दा छोटो दूरी दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडक निर्माण गरिए पनि हुर्लुङ–जालपा–बाक्सिला सडक बढी उपयोगमा छ ।

दश स्थानीय तह रहेको जिल्लाका सबै स्थानीय तह राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको सबै सडक वर्षा लागेसँगै पक्की पुल अभावमा करिब छ महिना अवरुद्ध हुने गरेको छ । हिउँदमा मात्र सञ्चालन हुने सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन सबै स्थानीय तहले पहल थालेका छन् ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पनि आफ्नै लगानीमा साप्सुखोलामा पक्की पुल निर्माण शुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *