July 13, 2026

गौरीगञ्जमा ‘घुम्ती मिल’

0

गौरीगञ्ज।

गौरीगञ्ज–६ खजुरगाछीका मो. ईस्माइललाई यतिको व्यस्त हुन्छु भन्ने कहिल्यै लागेको थिएन । बितेको १५ दिनदेखि त झन उनका लागि सोचेभन्दा परको कुरा भयो ।

व्यस्त हुनुको कारण उनले भने– ‘दिनमा एक सयभन्दा बढी फोन आउँछ । विहान ७ बजेदेखि काम थालेर राति १२ बजेसम्म पनि धान कुटाउँदा सकिँदैन । बिराटनगरबाट ल्याएका धान कुट्ने मिलले मो. इस्माईललाई यतिको व्यस्त बनाएको हो ।’

चामल एकतिर भुस अर्काेतिर निस्कने धान कुटने मेसिन ट्याक्टरको प्रयोग गरेर घर–घरमा लगेर कुटाउन सकिने भएकाले गाउँवासीहरूको माग अत्यधिक भएको ईस्माइलले बताए । डिजलबाट चल्ने २ लाख रूपैयाँमा खरिद गरेर ल्याएका उक्त मेसिनले १ घण्टामा ३० मन धानसम्म कुटाउन सकिने उनले बताए । उनले भने – ‘माग राम्रो छ । अहिले हामीले दिनको १ सय २० मनसम्म धान कुटाइरहेका छौ ।’ एक मन धान कुटाउँदा ७० रूपैयाँ लिने गरेका उनीसहित ३ जनाले काम गरिरहेका छन् ।

मिलमा लगेर हप्तौदिनसम्म पालो पर्खेर धान कुटाउने झञ्झटबाट मुक्त र समयको बचत पनि हुने हुँदा सबैको रोजाइ यही ‘मोवाइल धान कुट्ने मिल’ भएको छ । गौरीगञ्ज–६ खजुरगाछी बस्ने कृष्णहरि राजवंशीले २० मन धान यही मोवाइल मिलबाट कुटाउन पाउँदा खुशी व्यक्त गरे । उनले भने– विगतको वर्षसम्म धान कुटाउन टाढाको मिलमा लानुपथ्र्यो, वत्ती नभएर हप्तौ दिनसम्म पालो कुर्नु पथ्र्यो । अब त्यो झञ्झट भएन, घरमै कुटाउन पाइयो र समयको पनि बचत भयो ।

गौरीगञ्ज–६की ममता बुढाथोकीले पनि यो मिलले धेरै सजिलो बनाइदिएको प्रतिक्रिया दिइन् । उनले भनिन्– ‘मैले आँगनमा ४० मन धान कुटाएँ । चामल पनि फ्रेस निस्कियो । धान बोकेर लानु पनि परेन ।’ आफ्नो समय अनुकूल पारेर घरमै कुटाउन पाउँदा सबैको रोजाई अहिले यही ‘मोवाइल धान कुटने मिल’ भएको छ ।

यस अघि सिरक डस्ना सिलाउने र बनाउने काम गर्दै आएका २८ बर्षीय मो. ईस्माइलको अनुहारलाई उक्त मोवाइल मिलले ‘स्माइल’ दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *