June 28, 2026

सहाराविहीन बालबालिका मात्रै संरक्षित गर्न आग्रह

0

काभ्रेपलाञ्चोक,

सहाराविहीनबाहेक अन्य बालबालिकालाई संरक्षित नगर्न बालगृह सञ्चालकलाई आग्रह गरिएको छ । बालगृह महासङ्घद्वारा धुलिखेलमा आयोजित अन्तरक्रिया कार्यक्रममा साहरा भएका बालबालिकालाई ‘संरक्षित’का नाममा बालगृहमा राख्न नहुने धारणा व्यक्त गरियो ।

साहराविहीनबाहेक बालबालिकालाई कुनै पनि अवस्थामा बालगृहमा संरक्षित गर्न नहुने महासङ्घका केन्द्रीय अध्यक्ष दुर्गा मैनालीले बताउनुभयो । “स्थानीयस्तरबाटै साहराविहीन भएको प्रमाणित गरेर मात्रै बालबालिकालाई बालगृहमा राखौँ, अन्यथा भए परिवारमा हस्तान्तरण गरिहाल्नुस्”, उहाँले भन्नुभयो । जुनसुकै उद्देश्यले बालगृह स्थापना गरिए पनि प्रमुख विषय बालअधिकार नै भएकाले यसप्रति विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

सरकारको कुनै पनि बालबालिका सडकमा नहोस् भन्ने उद्देश्यलाई सहयोग पु¥याउन बालगृहले उल्लेख्य भूमिका खेलेको अध्यक्ष मैनालीले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले बालगृहका क्षेत्रमा नीति बनाउँदा संरक्षित बालबालिकाको नागरिकता पाउने अधिकारमा खुकुलो बनाइदेओस् ।” उहाँका अनुसार मुलुकका ५६६ बालगृहमा ८१ हजार बालबालिका संरक्षित छन् । महासङ्घले आगामी वैशाख २० गते राष्ट्रिय सम्मेलन गर्ने जनाएको छ ।

महासङ्घका महासचिव विजयकुमार प्रधानले सरकारले गत असार मसान्तभित्र साहरा भएका बालबालिकालाई हस्तान्तरण गर्न भनेकामा कसैले त्यस्ता संरक्षित गरेको भए तत्काल हस्तान्तरण गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “साहरा भएका बालबालिकालाई हस्तान्तरण गर्नुपर्छ, बालगृहलाई सेवाको हिसाबमा प्रयोग गरौँ, पेशा नबनाई पारदर्शी ढङ्गले काम गरौँ”, उहाँले राज्यका अङ्गले बालगृहको नियमित अनुगमन आग्रह गर्दै बालगृहका संरचना राज्कै भएकाले नीति निर्माणमा बालअधिकारलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

चलचित्रकर्मी यादव भट्टराईले नितान्त टुहुरा बालबालिकालाई मात्रै बालगृहमा संरक्षित गर्न आग्रह गर्नुभयो । “बालबालिका बिक्री गर्ने थलोको आरोपबाट मुक्त हुनुस्, साहराविहीनलाई साहरा दिनुस् यो नै पुण्यकर्म हो”, उहाँले भन्नुभयो ।

यसैबीच केन्द्रीय बालकल्याण समितिका एक टोलीले बनेपा नगरमा रहेका पाँच सडक बालबालिकालाई उद्धार गरेको छ । टोलीले हालै बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह वादेसँग छलफल गरी पाँच सडक बालबालिकालाई उद्धार गरी काठमाडौँस्थित एक पुनःस्थापना केन्द्र पठाइएको समितिले जनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *