भ्रष्टाचारको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन
बिर्तामोड।
नेपाली कांग्रेस झापाका पूर्वसभापति तथा संविधानसभाका सदस्य सुधिरकुमार शिवाकोटीले कम्युनिष्ट सरकारले गरेका भ्रष्टाचार र अनियमितताको टोल र वडा तहदेखि नै जनताकाबीचमा भण्डाफोर गर्न कार्यकतालाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस बिर्तामोड–१ नम्बर वडासमितिद्वारा शनिबार ड्रिम ल्याण्डपार्कमा आयोजित कार्यकर्ता भेला तथा बनभोज कार्यक्रमका प्रमुख अतिथि शिवाकोटीले कम्युनिष्टले गरेका भ्रष्टाचार, बेथिति र पक्षपातबाट आजित भएका जनता कांग्रेसलाई पर्खेर बसेको बताए ।
पूर्व सांसद डिल्लीप्रसाद सिटौलाले जनताका साह्रो, गाह्रो, अप्ठ्यारोमा सहयोग गर्दै कम्युनिष्टहरुले बाँडेका झुठा आश्वासन र भ्रमको जालो तोडेर जनतालाई लोकतन्त्रको मर्म बुझाउँदै साँचो कुरा बताउन कार्यकर्तालाई आग्रह गरे ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले कार्यकर्ताबीचको आपसी मिलाप र सद्भावले पार्टी बलियो हुने बताउँदै आफैंमा घात अन्तरघात नगर्ने हो भने कांग्रेसलाई कसैले हराउन नसक्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका जिल्ला सदस्य तथा बिर्तामोड नगरका मेयरका प्रत्यासी जलकुमार गुरुङ, नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाल महिला संघ झापाकी अध्यक्ष सुशीला ढकाल, बिर्तामोड–४का वडाध्यक्ष कुलप्रसाद संग्रौला लगायतले एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
नेकां १ नं. बडा सभापति नगेन्द्र बस्नेतको सभापतित्वमा भएको सो कार्यक्रममा कार्यक्रम संयोजक बलराम कार्कीले स्वागत मन्तव्य राखेका थिए भने प्रेम घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए ।
कृष्ण थापाले खडेरी कविता वाचन गरेको सो अवसरमा मनोरञ्जनात्मक गीत र नृत्यहरु प्रस्तुत गरिएका थिए । कोषाध्यक्ष बिकास बस्नेतले कार्यक्रम सञ्चालन गर्दा लागेको खर्चको आय व्यय विवरण प्रस्तुत गरेका थिए ।
