प्रजातन्त्र सेनानीलाई सम्मान गर्दै कनकाईले मनायो प्रजातन्त्र दिवस
सुरुङ्गा ।

कनकाई नगरपालिकाले विविध सांस्कृतिक कार्यक्रमसहित ७० औं प्रजातन्त्र दिवस मनाएको छ । नगरभित्र रहेका विभिन्न जातजातिका भेषभुषा, नृत्य र खानेकुरा तथा खेलहरु समेत समावेश गरिएको कार्यक्रम सँधैको भन्दा अलग पहिचानको भएको थियो ।
नगरभित्रका विद्यालयहरुले विविध जातजातिका सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । सो कार्यक्रम कनकाई–५ स्थित बीपी वनवाटिकामा भएको थियो । सो अवसरमा सोही स्थलमा निर्माण गरिएको नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको पूर्णकदको शालिक अनावरण गरिएको थियो । उक्त शालिक पूर्व राष्ट्रिय सभाका सदस्य डिल्लीप्रसाद सिटौला र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले संयुक्त रुपमा अनावरण गरेका थिए ।
कनकाई नगरपालिकाको १३ लाख १३ हजार रुपैँयाको लागतमा उक्त शालिक निर्माण गरिएको बताइएको छ । ४ बिगाह ८ कठ्ठा जमिनको सो वन क्षेत्रलाई नगरपालिकाले घेरावारा गरी बीपी वन वाटिका निर्माण गरिदिएको हो । ५ फुट ६ इन्च अग्लो बीपीकोसो सालिक स्थानीय कलाकार हिम्मत नेम्बाङ्गले ३ महिना लगाएर निर्माण गरेका हुन् ।
कार्यक्रममा राष्ट्रियसभाका पूर्व सदस्य सिटौला , कनकाई नगरपालिका प्रमुख पोखरेल, वार्ड नम्बर ५ का वडाध्यक्ष कृष्णबहादुर राई, नेपाली कांग्रेसका कनकाई नगर सभापति नेत्रप्रसाद चिमरिया, कनकाई नगरपालिकाका प्रवक्ता एवम् वार्ड नं. ४ का वार्डअध्यक्ष गोविन्दप्रसाद पौड्याल, आदिवासी जनजाति महासंघ कनकाईका अध्यक्ष लक्ष्मणज्वयल श्रेष्ठ, सम्मानित व्यक्तित्व संगीता थापा लगायतले मन्तव्य राखेका थिए ।
सोहि अवसरमा प्रजातन्त्र सेनानीहरु गणेशबहादुर लिम्बु, जनक शिवाकोटी र खगेन्द्रप्रसाद चापागाई, प्राकृतिक स्रोत तथा द्वन्द्व रुपान्तरण अभियानका अभियन्ताहरु कुमार पौड्याल र संगीता थापा तथा कलाकार हिम्मत नेम्बाङ्गलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन कनकाई नगरपालिकाका कर्मचारी लक्ष्मीप्रसाद अधिकारी र जनप्रतिनिधि सावित्रा बर्देवाले संयुक्त रुपमा गरेका थिए ।
