गौरीशंकरको स्मृतिमा जनवादी सांगीतिक कार्यक्रम
झापा।

गौरीशंकर खड्का स्मृति प्रतिष्ठानले नवौं स्मृति दिवसको अवसर पारेर बिर्तामोडमा वृहत् जनवादी सांगीतिक कार्यक्रम गर्ने भएको छ ।
माओवादी जनयुद्धकालमा पूर्वका नेता तथा संविधानसभा सदस्य गौरीशंकर खड्काको स्मृतिमा बिर्तामोडको देवी माविमा फागुन ९ गते जनवादी कलाकारले सांगीतिक कार्यक्रम गर्ने भएका हुन् ।
जनवादी गायक रामेश, रायन, जेबी टुहुरे, जीवन शर्मा, रामकृष्ण दुवाल, मधु गुरुङ, चन्द्र भण्डारी, मणि थापा लगायतले सांगीतिक प्रस्तुति दिने भएका छन् । सांगीतिक कार्यक्रमको काम धेरै पूरा भएको प्रतिष्ठानद्वारा मंगलवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुरुषोत्तम चुडालले जानकारी दिए ।
प्रतिष्ठानले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक प्रतिनिधित्व लगायतका परिवर्तनका लागि महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै कार्यक्रममा नौ जना राष्ट्रिय कलाकारलाई सम्मान गर्ने भएको छ । यसैगरी पहिलो पुस्ताका जनवादी कलाकार खुशीराम पाख्रिनलाई मरणोपरान्त सम्मान र अभिनन्दन गर्ने भएको छ ।
बिर्तामोड–३मा कार्यालय रहेको प्रतिष्ठानले प्रत्येक वर्ष गौरीशंकर खड्काको स्मृतिमा कार्यक्रम गर्दै आएको छ । खड्का २०६४ सालको पहिलो संविधानसभामा झापा क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । तत्कालीन माओवादी केन्द्रीय नेता खड्का शालीन, भद्र, इमान्दार र जनप्रिय थिए । सभासद् रहेकै समयमा २०६७ फागुन ९ गते क्यान्सर रोगका कारण खड्काको निधन भएको थियो ।
