October 14, 2026

नेपालगञ्जमा औद्योगिक गणना हुने

0

नेपालगञ्ज,

यही फागुनको दोस्रो साताबाट नेपालगञ्जमा औद्योगिक गणना तथा सर्वेक्षण हुने भएको छ । तथ्याङ्क कार्यालय नेपालगञ्जका प्रमुख दानबहादुर ऐरीले विभिन्न प्रयोजनका लागि तथ्याङ्क आवश्यक पर्ने भएकाले औद्योगिक गणना तथा सर्वेक्षण हुन लागेको बताउनुभयो ।

औद्योगिक गणना तथा सर्वेक्षणबाट आएको तथ्याङ्कका आधारमा सरकारलाई औद्योगिक नीतिनिर्माणमा सहज हुनुको साथै उद्योगी, व्यवसायीलाई औद्योगिक क्षेत्रका अवसर र चुनौतीका बारेमा जानकार बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

बाँकेमा विभिन्न प्रकृतिका करीब ५०० औद्योगिक प्रतिष्ठानको गणना हुने र त्यसका लागि चार जना गणकलाई खटाइने प्रमुख ऐरीले जानकारी दिनुभयो । उद्योगको परिचय, दर्ता भएको निकाय, कर्मचारी विवरण, आम्दानी स्रोत, चलअचल सम्पत्ति, उद्योगी, व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा प्रश्न सोधेर गणना गरिने जनाइएको छ ।

प्रमुख ऐरीका अनुसार दशभन्दा बढी कामदार भएको उद्योगको गणना हुनेछ भने सोभन्दा कम कामदार भएका उद्योगको सर्वेक्षण हुनेछ । गणनासम्बन्धी विषयमा जानकारी गराउने उद्देश्यले सो कार्यालयले आज नेपालगञ्जमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका निर्वतमान अध्यक्ष नन्दलाल वैश्य, वर्तमान महासचिव चिराञ्जीवी ओलीलगायत उद्योगी व्यवसायी तथा सरोकारवाला पक्षको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *