October 17, 2026

कनकाई माविको ६२ औं वार्षिकोत्सव

1

संगीता उप्रेती / सुरुङ्गा।

कनकाई नगारपालिका–३ सुरुङ्गास्थित कनकाई माविको ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य माननीय एलपी साँवाको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगीले विद्यालयको आर्थिक, भौतिक, शैक्षिक गतिविधिसहित भावी कार्यक्रम समेटिएको विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नमुना विद्यालय विकासको चरणमा रहेको विद्यालयमा हाल २ हजार ३४ विद्यार्थी अध्ययनरत र ७६ जना शिक्षक–कर्मचारी कार्यरत रहेका छन् । कार्यक्रममा कनकाई भूतपूर्व विद्यार्थी समाजले सोही विद्यालयका पूर्व विद्यार्थी नवीन शिवाकोटीलाई उच्च अध्ययनमा सहयोग पुगोस् भनी १० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरेको थियो । कार्यक्रममा विद्यालयको भौतिक, शैक्षिक क्षेत्रमा पु¥याएको योगदानका लागि पूर्व प्रअ गोपीकृष्ण भट्टराई, सेवानिवृत्त शिक्षक विजय श्रेष्ठ, सरुवा भएका शिक्षक तुलसीराम खरेल, लोक सेवा आयोगबाट शिक्षा अधिकृतमा सिफारिस भएका पूर्व शिक्षक राजकुमार ओडारी, विद्यालयका शिक्षक जानुका चुडाल, एक्सल डेभलपमन्ट बैंक शाखा सुरुङ्गा, समाजसेवी सचिन लामा र विद्यार्थी जेनिश चम्लागाईलाई सम्मान गरिएको थियो ।

उक्त समारोहमा विश्वास चौधरी, किरण डाँगी, आनन्द लिम्बू र प्रेक्षा भट्टराईलाई प्रतिमान–गंगादेवी उप्रेती छात्रवृत्ति छात्रवृत्ति प्रदान गरिएको थियो । सो विद्यालयबाट एईई–२०७५ मा ५ जना ए प्लस र ३७ जना ए ग्रेड ल्याउने विद्यार्थीलाई स्वर्गीय धनबहादुर सुवेदी छात्रवृत्ति प्रदान गरिएको थियो भने विमर्श दाहाल, युशा अधिकारी, सुमन आचार्य, आकृशा दाहाल, लोकनाथ सुवेदी र उमा गणेशलाई भीमप्रसाद–पद्मकला सुवेदी उत्कृष्ट तथा प्रोत्साहन छात्रवृत्ति प्रदान गरिएको थियो । त्यसै गरी, अस्मिता चौधरी, निशा कोइराला, आदर्श खनाल र विनिता चुडाललाई रामप्यारी शिवाकोटी स्मृति छात्रवृत्ति दिइएको थियो ।

सो अवसरमा भएको प्रतिष्पर्धात्मक सांस्कृतिक कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीलाई पनि नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । विन्दा स्मृति अक्षयकोषद्वारा सञ्चालित कनकाई तारा गायन स्पर्धामा प्रथम प्रिया श्रेष्ठ, द्वितीय साइसा प्रसाई र तृतीय निशान तिम्सिना भएका थिए भने खुश्बू ओली प्रतिभा अक्षयकोषद्वारा सञ्चालित कनकाई तार नृत्य स्पर्धामा प्रथम आस्था निरौला, द्वितीय राजेश बस्नेत र तृतीय प्रियंका चिमरिया भएका थिए । त्यसै गरी कनकाई लिटल स्टारमा गायनतर्फ कुसुम ठटाल र नृत्यतर्फ श्वेता शेर्पा छानिएका थिए ।

शिक्षक प्रतिनिधि बल्लभकुमार गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रममा झापा क्षेत्र नं. ४ का प्रदेश सभा सदस्य हीराकुमार थापा, कनकाई भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष अखिलकुमार कोइराला, शिक्षक अभिभावक संघका अध्यक्ष नेत्र प्रसाईं, सम्मानित व्यक्तित्व तुलसीराम खरेल, विद्यार्थीहरु मनिषा थपलिया, अनुषा कार्की लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा शिक्षकद्वय शारदा पाठक र मदनकुमारी अधिकारीको नेतृत्वमा आमा समूह, विव्यस, पीटीए र शिक्षक सम्मिलित संगिनी नृत्य प्रस्तुत गरिएको थियो । शिक्षक, अभिभावक, विद्यार्थीहरुका विविध सांस्कृतिक प्रस्तुति रहेको कार्यक्रममा खेलका विभिन्न विधामा विजय हासिल गर्ने विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा शिक्षकहरुले सामूहिक नृत्य प्रस्तुत गरेका थिए ।

विभिन्न चरणमा भएको कार्यक्रममा सहायक प्रअद्वय हरिप्रसाद तिम्सिना र चन्द्रप्रसाद शिवाकोटी, आधारभूत ईञ्चार्जद्वय खड्गप्रसाद आचार्य र खेमराज भट्टराई, शिक्षकहरु तीर्थराज खरेल, दिलिपकुमार खतिवडा, भीमप्रसाद दहाल, जीतबहादुर बस्नेत तथा विद्यार्थीहरु लोकनाथ सुवेदी, अभिषेक मिश्र लगायतले सञ्चालन गरेका थिए ।

1 thought on “कनकाई माविको ६२ औं वार्षिकोत्सव”

Leave a Reply

Your email address will not be published. Required fields are marked *