October 17, 2026

अवैध काठ ओसारपसारमा संलग्न दुई पक्राउ

0

बेत्रावती,

डिभिजन वन कार्यालय नुवाकोटले अवैधरुपमा लैजान लागेको एक गाडी काठसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

विदुर नगरपालिका–१३ को आमथाङबाट विदुर–८ राइसिंहतर्फ ल्याउँदै गरेको ४६ गोलिया काठ बोकेको बा ५ ख १५६७ नंं को मिनीट्रकसहित त्यसका चालक र धनीलाई प्रहरीको सहयोगमा वन कार्यालयले शुक्रबार नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सो ट्रकका चालक विदुर–१२ का २३ वर्षीय शुक्रमान तामाङ र गाडी धनी २५ वर्षीय अमृत थापा रहेको वन कार्यालयले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई आवश्यक कानूनी कारवाहीका लागि अनुसन्धान गर्न जिल्ला वन कार्यालय नुवाकोटले ‘वन ऐन’ अनुसार जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर हिरासतमा राखी अनुसन्धान अघि बढाएको वन कार्यालयका प्रमुख जयमङ्गल प्रसादले जानकारी दिनुभयो ।

उहाँका अनुसार बरामद भएका ४१ गोलिया सालको काठ र पाँच गोलिया चिलाउनेको काठको परिणाम निकाल्न बाँकी छ । अहिले बरामद काठ १०० क्युफिट रहेको अनुमान गरिएको र ल्याउन बाँकी रहेको काठको समेत खोजी भइरहेकाले परिणाम यकिन भन्न नसकिने उहाँले बताउनुभयो ।

काठको व्यावसायिक कटान, सङ्कलन, ओसारपसारको लागि वन कार्यालयको अनुमति अनिवार्य भए पनि त्यसको उल्लङ्घन गरेकाले ओसारपसार भएको काठ अवैध मानिएको छ । कटान भएर ल्याउन बाँकी रहेको काठ र त्यसमा संलग्न अन्य व्यक्तिको वन कार्यालय र प्रहरीले खोजी गरिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *