October 18, 2026

नाम मात्रैको हेल्प डेक्स, चिकित्सक विना नै परामर्श !

0

बिर्तामोड।

उत्तरी छिमेकी मुलुक चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा फैलन नदिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौं सहित पूर्वी नाका काँकरभिट्टामा समेत हेल्प डेक्स स्थापना गरिएको छ ।

मेचीनगर नगरपालिकाले कोरोना भाइरस संक्रमित व्यक्ति नेपाल आउँदा अन्य मानिसहरुलाई यो रोगको संक्रमण सर्न नपाओस् भन्दै दुई साता अघि पूर्बी प्रवेशद्वारमै हेल्पडेक्स स्थापना ग¥यो । तर, परामर्श तथा सहायता कक्ष भन्दै मेचीनगरपालिकाले स्थापना गरेको हेल्प डेक्स नाम मात्रैको रहेको छ ।

स्थल मार्ग भएर सबैभन्दा धेरै विदेशी नागरिक पूर्बी नाका कारकरभिट्टा हुँदै नेपाल भित्रन्छन् । नेपाल भित्रने नागरिक मध्ये धेरै जसो बंगलादेशी नागरिक हुने गरेका छन् । सन २०२० लाई सरकारले भ्रमण वर्ष घोषणा गरेर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएका बेला उत्तरी छिमेकी मुलुक चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस फैलने त्रास नेपालमा समेत फैलिएको हो ।

मेचीनगरपालिकाले दुई साता अघि स्थापना गरेको हेल्प डेक्स नाम मात्रैको रहेको पाइएको छ । त्यहाँ न चिकित्सक छन् न त्यहाँ बस्ने स्वास्थ्यकर्मीलाई कुनै उपकरण उपलब्ध गराइएको छ । कोरोना भाइरसको संक्रमण नेपाल भित्रन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय झापाको समन्वयमा पूर्वी नाका काँकरभिट्टामा कोरोना भाइरस परामर्श सहायता कक्ष स्थापना गरिएपनि परामर्शका लागि खटाइएका अनमी सुष्मा राई हात्ती पाइलेको औषधि खुवाउन हिँडेसंगै परामर्श केन्द्र नाम मात्रैको बनेको हो ।

मेचीनगरपालिकाको स्वास्थ्य शाखाले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दुईजना तल्लो तहका प्रयोगशालामा काम गर्ने प्राविधिकका भरमा उक्त सहायता कक्ष सञ्चालन गरिएको छ । तर, पूर्वी नाका काँकरभिट्टामा भारततिरबाट आउने प्रायः सबै मानिसहरु त्यस कक्षमा नपसी आफ्नो बाटो हिँड्ने गरेका छन् ।

अध्यागमन कार्यालय र नेपाल पर्यटन बोर्ड समेत काँकरभिट्टामा भएपनि दुवै कार्यालयसंग समन्वय नभएको बताइएको छ । कार्यालयका सूचना अधिकारी मदनप्रसाद खतिवडाले आफूहरुसंगै नगरपालिकाले कुनै पनि समन्वय नगरेको बताएका छन् ।

यता पूर्वी नाकाबाट कोरोना भाइरस रोग भित्रिन नदिन १२ घण्टे हेल्थ डेक्समार्फत विशेष सजगता अपनाइएको मेचीनगर ६ का वडा अध्यक्ष ललित तामाङ बताउँछन् । उनी भन्छन् – नेपाल भित्रने मध्ये संका लागेका व्यक्तिको स्वास्थ्य जाँच गरिन्छ । पूर्वी नाका काँकरभिट्टा भएर चिनिया नागरिकको सट्टा अन्य मुलुकका पर्यटहरु बढी नेपाल आउने गरेका छन् ।

सरकारले सन २०२०लाई भ्रमणा वर्ष घोषणा गरेसंगै यो नाका भएर नेपाल भित्रने पर्यटकको संख्या सन्तोष जनक रहेपनि अझैं प्रचारप्रसार अभाव रहेको पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख वाशुदेव ढकाल बताउँछन् ।

चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म एक हजार ३ सय ५० जनाले ज्यान गुमाइसकेका छन् भने विरामीको संख्या झण्डै ६० हजार पुगेको छ । चिनमा कोरोना भाइरस संक्रमणका कारण दिन प्रतिदिन मानिसको मृत्यु हुनेको संख्या बढेसंगै नेपालमा सचेतना अपनाउनु आफैमा राम्रो भएपनि तयारी नपुग्नु चाँही सचेतना कक्षा सञ्चालन गर्नु देखावटीका लागि मात्रै भएको मान्न सकिन्छ ।

कोरोना भाइसरको संक्रमण हुँदा ज्वरो १ सय ४ डिग्रीमाथि आउनु, घाटी र टाउको दुख्‍नु, रुघा र खोकी लाग्नु तथा श्वासप्रश्वासमा समस्या देखिनु लगायतका लक्षणहरु देखा पर्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *